Shopping cart

  • Home
  • राजनिती
  • अग्रगामी मोर्चा’को पहिलो बैठक सम्पन्न, संयुक्त आमसभा र जनलक्षित कार्यक्रमहरू गर्ने निर्णय
देश

अग्रगामी मोर्चा’को पहिलो बैठक सम्पन्न, संयुक्त आमसभा र जनलक्षित कार्यक्रमहरू गर्ने निर्णय

Email :35

काठमाडौँ । प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ गठित ‘अग्रगामी मोर्चा’को पहिलो बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौँमा बसेको मोर्चाको बैठकले संयुक्त आमसभा सहितका विभिन्न जनलक्षित कार्यक्रमहरू गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।

बैठकका निर्णय र मोर्चाको आगामी योजनाबारे जानकारी दिँदै जनमत पार्टीका महासचिव चन्दन सिंहले मोर्चालाई आगामी निर्वाचनसम्म नै मजबुत बनाएर लैजाने बताए । बैठकमा सहभागी सिंहले भने, ‘हामीले विगतका सबै आन्दोलनहरूको समीक्षा गरेका छौँ र अब चुनावसम्म नै यो मोर्चालाई मजबुत बनाएर लैजाने सहमति भएको छ । हामी हाम्रा कार्यक्रमहरूलाई तल्लो तहसम्म पुर्‍याउनेछौँ र विभिन्न स्थानमा संयुक्त आमसभाहरू समेत आयोजना गर्नेछौँ ।’

यस मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा गरी आठवटा राजनीतिक शक्तिहरू आबद्ध छन् । यी दलहरूले गत साता मात्रै मोर्चा गठनको घोषणा गरेका थिए ।

मोर्चाले आफ्नो अवधारणा पत्रमार्फत लोकतान्त्रिक, प्रगतिशील, सामाजिक लोकतान्त्रिक, क्रान्तिकारी, श्रमिक, समाजवादी तथा समावेशी शक्तिहरूलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाएको छ । साथै, नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणलाई मोर्चाले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

राजनीतिक सत्ताको अत्यधिक केन्द्रीकरण, सर्वसत्तावाद र अधिनायकवादी प्रवृत्तिको अन्त्य गर्दै मुलुकमा स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र मानव अधिकार सुनिश्चित गर्ने मोर्चाको मुख्य लक्ष्य रहेको छ । महासचिव सिंहका अनुसार अब मोर्चाले तल्लो तहका कार्यकर्ता र जनतासम्म आफ्ना एजेन्डाहरू पुर्‍याउन सक्रियता बढाउनेछ ।

Comments are closed

Related Post