काठमाडौं । सुकुम्बासी अधिकारकर्मी अर्जुन कुँवरले सरकारले गत वैशाख १२ गतेदेखि भूमिहीन तथा सुकुम्बासीमाथि क्रूर व्यवहार गरेको आरोप लगाएका छन्।
काठमाण्डौंमा शुक्रबार एक कार्यक्रममा बोल्दै उनले उचित वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउँदा सयौँ परिवार विस्थापित भएको र ३८८ परिवारलाई होल्डिङ सेन्टरमा राखेर दयनीय अवस्थामा बाँच्न बाध्य बनाइएको बताए। हजारौँ परिवारको लगत संकलन गरिए पनि वास्तविक सुकुम्बासीको समेत उचित व्यवस्थापन गर्न सरकार असफल भएको उनको भनाइ थियो।
कुँवरले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा हिरालाल हजारा दुसादले आत्महत्या गर्नु सरकारबाट सिर्जित मानसिक तनावको परिणाम भएको दाबी गरे। लामो समयसम्म स्थायी बसोबासको टुंगो नलाग्दा सुकुम्बासीहरू भयावह अवस्थामा पुगेको भन्दै उनले सरकार गरिब जनताको पक्षमा नरहेको आरोप लगाए। उनका अनुसार होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीसँग वार्ता गर्न आउने सरकारी अधिकारीसँग निर्णय गर्ने अधिकारसमेत नहुँदा समस्या थप जटिल बनेको छ। मृतकको दाहसंस्कारका लागि रकम उपलब्ध गराउने सरकारी प्रस्ताव मात्र पर्याप्त नभएको भन्दै उनले विस्थापित परिवारलाई घरटहरा भत्काउँदा भएको क्षतिको समेत उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे।
सरकारले नागरिकता हेरेर सुकुम्बासीलाई गाउँ फर्काउने तयारी गरिरहेको आरोप लगाउँदै कुँवरले त्यसको विरोधमा आन्दोलन घोषणा गरिने चेतावनी दिए। सरकारले आफूहरूले दिएको अल्टिमेटम बेवास्ता गरे आन्दोलन सुरु हुने उनले बताए। साथै, होल्डिङ सेन्टरमा सुकुम्बासीको मृत्युका घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने, प्रभावित परिवारको स्थायी व्यवस्थापन गर्नुपर्ने तथा राज्यले जिम्मेवार ढंगले समस्या समाधान गर्नुपर्ने उनको माग छ। सम्मेलनमा कुँवरले सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा सरकार गैरजिम्मेवार र दम्भपूर्ण ढंगले प्रस्तुत भइरहेको आरोपसमेत लगाए।














Comments are closed