Shopping cart

  • Home
  • समाज
  • मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
मुख्य समाचार

मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल

Email :140

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको परिपक्व विचार र कार्यनीतिले मुलुकमा लोकतन्त्र स्थापना भएको बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ  स्मृति दिवसका सन्दर्भमा आयोजित विचार गोष्ठीमा  उहाँले संयुक्त जनआन्दोलनको नीतिका आधारमा आफूहरूले निर्माण गरेको बृहत्तर मोर्चाका साथै तत्कालीन सात दलको संयुक्त जनआन्दोलनका बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताउनुभयो ।

सबै देशभक्त कम्युनिष्टले पुष्पलाललाई साझा व्यक्तिका रूपमा स्वीकार्ने बताउँदै अध्यक्ष दाहालले सबै कम्युनिष्ट एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले सामाजिक विज्ञानको अनुसन्धानकर्ता, दार्शनिक, चिन्तकका रूपमा आफूले पुष्पलाललाई स्मरण गर्दै आफू ३६ वर्षदेखि नेतृत्वमा रहेर भिन्न मतलाई सम्मान गर्ने गरेको उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा जनअधिकार स्थापनाका लागि निरङ्कुशताविरुद्धको सङ्घर्षमा पुष्पलालले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । उहाँले हाल देशमा थुप्रै कम्युनिष्ट पार्टी छरिएकाले तिनलाई एकीकृत गर्न सकेमा पुष्पलालप्रति साँचो सम्मान हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले निरङ्कुशताविरुद्ध सङ्घर्ष अगाडि बढाउन पुष्पलालले वर्ग विश्लेषण र राजनीतिक विश्लेषण गर्दै कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो । पुष्पलालले कुशल सङ्गठनको भूमिका निर्वाह गरेको स्मरण उहाँले गर्नुभयो ।

जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाजिक असमानता, विभेदको अन्त्य गर्न कम्युनिष्ट एकताको खाँचो औँल्याउनुभयो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकामी राजनीतिक शक्तिलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेका पुष्पलालको वैचारिक दृष्टिकोणको सराहना गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन अहिले जालझेल र षड्यन्त्रमा रुमल्लिइरहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

Comments are closed

Related Post