Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरण : विचारभन्दा पहिले व्यवहार, भाषणभन्दा पहिले जीवन र नेतृत्वभन्दा पहिले आत्मरूपान्तरण
देश

नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरण : विचारभन्दा पहिले व्यवहार, भाषणभन्दा पहिले जीवन र नेतृत्वभन्दा पहिले आत्मरूपान्तरण

Email :27

बासु दुलाल
नेपालको कम्युनिस्ट आन्दोलन आज एउटा गम्भीर मोडमा उभिएको छ। यो केवल चुनाव हार–जितको प्रश्न होइन, केवल नेतृत्व परिवर्तनको प्रश्न पनि होइन। यो विचार, संगठन, नेतृत्व, कार्यकर्ता र जनताबीच टुट्दै गएको विश्वासको प्रश्न हो।

२०२६ को निर्वाचनमा नेपालका कम्युनिस्ट दलहरूको संयुक्त मत हिस्सा विगतका निर्वाचनहरूको तुलनामा उल्लेख्य रूपमा घटेर करिब २१ प्रतिशतमा पुगेको तथ्यले संकटको गहिराइ देखाउँछ। हालै प्रकाशित एउटा अध्ययनले पनि नेपाली कम्युनिस्ट दलहरूमा वैचारिक अस्पष्टता, संगठनात्मक संकट र नयाँ पुस्तासँगको दूरी बढेको औँल्याएको छ। तर प्रश्न केवल “कम्युनिस्ट आन्दोलन किन कमजोर भयो?” भन्ने होइन।
आजको मूल प्रश्न हो
कम्युनिस्ट आन्दोलन फेरि जनताको आशा, भरोसा र संघर्षको केन्द्र कसरी बन्न सक्छ ?
र यसको पहिलो उत्तर अरूलाई बदल्नु होइन।
आफूलाई बदल्नु हो।
१. अब ती दिन गए
आफू र आफ्ना मात्र वरिपरि राखेर संगठन चलाउने भए, पद र जिम्मेवारीलाई सीमित व्यक्तिको घेराभित्र राख्ने भए, आलोचना गर्नेहरूलाई पाखा लगाएर प्रशंसा गर्नेहरूलाई अवसर दिने भए-अस्ति नै धेरै कुरा भइसक्थे होलान्।
तर अब ती दिन गए, महोदय।
अब व्यक्ति होइन- नीति।
आग्रह होइन-विधि।
गुट होइन-संगठन।
नातासम्बन्ध होइन-योग्यता।
चाप्लुसी होइन-क्षमता।
पदको मोह होइन-जिम्मेवारी।
यही आधारमा पार्टी चल्नुपर्छ।
२१औँ शताब्दीको समाजवादी रूपान्तरणको नेतृत्व गर्ने पार्टी २०औँ शताब्दीका पुराना मानसिकता, पुराना व्यवहार र पुराना संगठनात्मक संस्कार बोकेर निर्माण हुन सक्दैन।
२. संकट विचारमा मात्र होइन, व्यवहारमा पनि छ
कम्युनिस्ट आन्दोलनले वर्ग, श्रम, समानता, सामाजिक न्याय, उत्पीडितको मुक्ति र समाजवादका महान् आदर्श बोकेको छ। नेपालको संविधानले समेत सामाजिक न्याय, समानुपातिक समावेशिता, श्रमको सम्मान र समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य स्वीकार गरेको छ।
तर जनताले प्रश्न गर्न थालेका छन्-
हामीले बोलेको समाजवाद हाम्रो आफ्नै जीवनमा कहाँ छ ?
सर्वहारा र श्रमजीवीको कुरा गर्ने नेता आफैँ विलासी जीवनमा छ भने, समानताको कुरा गर्ने संगठनभित्र अवसरको वितरण असमान छ भने, भ्रष्टाचारविरुद्ध बोल्ने पार्टीभित्र भ्रष्ट आचरण भएका पात्रलाई संरक्षण गरिन्छ भने, जनताको दुःखको कुरा गर्ने नेतृत्व जनताबाट टाढिँदै जान्छ भने-समस्या विचारमा मात्र होइन, विचार र व्यवहारबीचको खाडलमा छ।
कम्युनिस्ट आन्दोलनको पुनर्जागरण घोषणापत्रबाट मात्र हुँदैन।
जीवन व्यवहारबाट सुरु हुन्छ।
३. पहिलो क्रान्ति-आफ्नै जीवनभित्र
समाज बदल्ने दाबी गर्ने व्यक्तिले पहिले आफ्नो जीवनलाई बदल्नुपर्छ।
नेता र कार्यकर्ताको जीवनमा देखिनुपर्ने केही आधारभूत परिवर्तन अब अनिवार्य छन्।
जीवनशैली
साधारण जनताको जीवनभन्दा अस्वाभाविक रूपमा विलासी जीवनशैली अपनाएर श्रमजीवी वर्गको नेतृत्व गर्न सकिँदैन।
नेताको जीवनले कार्यकर्तालाई भन्न सक्नुपर्छ—
“म तिमीभन्दा माथि होइन, तिम्रो संघर्षको एउटा जिम्मेवार सहयात्री हुँ।”
खानपिन
खानपिन आफैँमा अपराध होइन। तर जनताको दुःख, पार्टीको आर्थिक अवस्था र कार्यकर्ताको अभावबीच नेतृत्वको अत्यधिक तडकभडकपूर्ण खानपिनले पैदा गर्ने मनोवैज्ञानिक दूरी गम्भीर राजनीतिक प्रश्न हो।
सादगी, मर्यादा र संयम राजनीतिक संस्कार बन्नुपर्छ।
उठबस
जनताको घरमा जाने, किसानसँग खेतमा उभिने, मजदुरसँग श्रमको कुरा गर्ने, बेरोजगार युवाको पीडा सुन्ने, दलित बस्तीमा बस्ने, जनजाति समुदायको संस्कृति र अनुभूति बुझ्ने, सीमान्तकृत मानिसको घरको चुलो हेर्ने संस्कार फर्काउनुपर्छ।
नेता जनतामा पुग्ने होइन-
जनताबीच बाँच्ने संस्कार निर्माण गर्नुपर्छ।
रहनसहन
पार्टी कार्यालयमा भेटिने कार्यकर्ता होइन, समाजमा भेटिने कार्यकर्ता चाहिन्छ।
कार्यकर्ताले जनतालाई भाषण मात्र होइन, आफ्नो आचरणबाट राजनीति सिकाउनुपर्छ।
४. उत्पीडितको प्रतिनिधित्व भाषणमा होइन, निर्णयमा
दलित, आदिवासी जनजाति, मधेसी, महिला, किसान, मजदुर, श्रमजीवी, अल्पसंख्यक र सीमान्तकृत समुदायका मुद्दा पार्टीका दस्तावेजमा लेखेर मात्र पुग्दैन।
उनीहरूलाई
निर्णय प्रक्रियामा स्थान,
नेतृत्वमा अवसर,
संगठनमा सम्मान,
स्रोतमा पहुँच र
राजनीतिक भविष्यमा सुनिश्चितता
दिनुपर्छ।
नेपालको संवैधानिक व्यवस्थाले समेत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदाय, किसान, मजदुर, दलित र आदिवासी जनजातिको सहभागिता तथा विशेष अवसरको आधार स्वीकार गरेको छ।
त्यसैले समावेशिता दया होइन।
न्याय हो।
५. पार्टीलाई ‘प्राइभेट लिमिटेड’ बनाउने मानसिकताको अन्त्य
सबैभन्दा खतरनाक प्रवृत्तिमध्ये एउटा हो-पार्टीलाई वैचारिक र जनसंगठन होइन, केही व्यक्तिको निजी प्रभावक्षेत्र बनाउने प्रयास।
यसको स्वरूप अनेक हुन्छ-
आफ्ना मान्छेलाई मात्र अवसर दिने,
अरूलाई सधैँ शंकाको दृष्टिले हेर्ने,
आलोचकलाई शत्रु ठान्ने,
चाप्लुसी गर्नेहरूलाई नजिक राख्ने,
योग्यभन्दा वफादारलाई प्राथमिकता दिने,
अवसरको असमान वितरण गर्ने,
संगठनात्मक निर्णयलाई निजी सम्बन्धले प्रभावित गर्ने,
जिम्मेवारीलाई व्यक्तिगत सम्पत्तिजस्तो ठान्ने।
यस्ता प्रवृत्तिले पार्टीलाई बलियो होइन, भित्रबाट खोक्रो बनाउँछ।
अब संगठनको मापदण्ड स्पष्ट हुनुपर्छ-
योग्यता + योगदान + निष्ठा + जनसम्बन्ध + अनुशासन + परिणाम।
६. ‘आफ्ना मान्छे’ होइन, ‘योग्य मान्छे’
कम्युनिस्ट पार्टीमा सबैभन्दा ठूलो सम्बन्ध विचारसँग हुनुपर्छ।
कसैको नजिक हुनु योग्यता होइन।
कसैको आलोचक हुनु अयोग्यता होइन।
कसैले फरक मत राख्नु पार्टीविरोधी हुनु होइन।
बरु प्रश्न हुनुपर्छ-
उसले पार्टीका लागि के गर्‍यो ?
जनताका लागि के गर्‍यो ?
संकटमा कति उभियो ?
उसको जीवन कति पारदर्शी छ ?
उसले कति मानिसलाई संगठित गर्न सक्छ ?
उसले कति नयाँ विचार ल्याउन सक्छ ?
यही आधारमा जिम्मेवारी बाँडिनुपर्छ।
७. अवसरवादी झुण्डलाई होइन, संघर्षशील कार्यकर्तालाई अवसर
पार्टीभित्र वर्षौँसम्म संघर्ष गर्ने कार्यकर्ता उपेक्षित हुने, तर अवसर हेरेर आउने, शक्ति बदलिँदा पक्ष बदल्ने र हरेक नेतृत्वसँग आफ्नो सम्बन्ध मिलाउने व्यक्तिले बारम्बार अवसर पाउने प्रवृत्तिले संगठनको मेरुदण्ड भाँचिन्छ।
अब यस्तो प्रश्न गर्नुपर्छ-
“कसले कति ठूलो कुरा बोल्छ?” होइन,
“कसले कति कठिन समयमा कति ठूलो जिम्मेवारी पूरा गर्‍यो ?”
राजनीतिक मूल्यांकनको आधार यही हुनुपर्छ।
८. भ्रष्टाचार, कमिसन र दलालीसँग सम्झौता नगर्ने पार्टी
कम्युनिस्ट पार्टीले जनताको नाममा राजनीति गरेर भ्रष्टाचार, कमिसन, दलाली वा अनैतिक आर्थिक गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गर्‍यो भने त्यसले आफ्नो नैतिक आधार गुमाउँछ।
पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ-
सार्वजनिक जीवनमा पारदर्शिता।
आय–व्ययमा जवाफदेहिता।
हितको द्वन्द्वमा स्पष्टता।
भ्रष्टाचारमा शून्य सहनशीलता।
पदको दुरुपयोगमा कारबाही।
समाजले तिरस्कार गरेका पात्रलाई केवल राजनीतिक उपयोगिताका नाममा पार्टीमा भित्र्याएर अवसर दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ।
पार्टी सफा भए मात्र समाज परिवर्तनको नैतिक अधिकार बलियो हुन्छ।
९. नेतृत्व परिवर्तनभन्दा ठूलो कुरा-नेतृत्व संस्कारको परिवर्तन
आज कतिपय ठाउँमा एउटा अनौठो प्रवृत्ति देखिन्छ-
“मुख्य नेतृत्व बदलिनुपर्छ” भन्नेहरू आफैँ भने कुनै हालतमा आफ्नो जिम्मेवारी छोड्न तयार हुँदैनन्।
यो कस्तो रूपान्तरण हो?
अरूको पदलाई प्रश्न गर्ने तर आफ्नो पदलाई अधिकार ठान्ने, अरूको जीवनशैलीमाथि प्रश्न उठाउने तर आफ्नो जीवनशैली नबदल्ने, मुख्य नेतृत्वको आलोचना गर्ने तर आफ्नो गुट, आफ्नो मान्छे र आफ्नो प्रभावक्षेत्र जोगाउन मरिहत्ते गर्ने प्रवृत्ति पनि संकटको एउटा कारण हो।
रूपान्तरण अरूबाट सुरु हुँदैन। आफैँबाट सुरु हुन्छ।
यदि नेतृत्व परिवर्तन आवश्यक छ भने त्यो नीति, विधि र लोकतान्त्रिक प्रक्रियाबाट होस्।
तर नेतृत्व परिवर्तनको नाममा आफ्नो गुटको संरक्षण र आफ्नो पदको निरन्तरता खोज्ने राजनीति स्वीकार्य हुनु हुँदैन।
१०. आलोचना गरौँ, तर आत्मालोचनासहित
कम्युनिस्ट आन्दोलनको सुन्दर परम्परा आलोचना र आत्मालोचनाको हो।
तर आज आलोचना धेरै र आत्मालोचना कम हुँदै गएको छ।
हामीले अब हरेक तहमा पाँचवटा प्रश्न सोध्नुपर्छ-
१. मैले के गल्ती गरेँ ?
२. मैले पार्टी र जनताको अपेक्षाअनुसार के गर्न सकिनँ ?
३. मेरो जीवन व्यवहारमा के परिवर्तन आवश्यक छ ?
४. मैले योग्य मानिसलाई कति अवसर दिएँ ?
५. म आफैँ रूपान्तरण नभई अरूलाई रूपान्तरणको उपदेश किन दिइरहेको छु ?
यी प्रश्नको इमानदार उत्तर नै नयाँ राजनीतिक संस्कारको सुरुवात हो।
११. २१औँ शताब्दीको पार्टी कस्तो ?
अबको पार्टी केवल पुरानो ढाँचाको ठूलो संगठन भएर पुग्दैन।
हामीलाई चाहिन्छ-
वैचारिक रूपमा स्पष्ट पार्टी
मार्क्सवादलाई जडसूत्र होइन, समाजको नयाँ यथार्थ बुझ्ने वैज्ञानिक विधिका रूपमा ग्रहण गर्ने।
वैज्ञानिक पार्टी
तथ्य, अनुसन्धान, प्रविधि, डेटा र विशेषज्ञताको प्रयोग गर्ने।
डिजिटल पार्टी
युवा पुस्तासँग सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट मात्र प्रचार होइन, संवाद र सहभागिता स्थापित गर्ने।
समावेशी पार्टी
दलित, जनजाति, महिला, युवा, किसान, मजदुर, सीमान्तकृत र विशेषज्ञ सबैको वास्तविक प्रतिनिधित्व हुने।
परिणाममुखी पार्टी
बैठक, भाषण र प्रस्तावभन्दा कामको परिणामलाई मूल्यांकन गर्ने।
पारदर्शी पार्टी
आर्थिक तथा संगठनात्मक गतिविधिमा स्पष्ट जवाफदेहिता हुने।
अध्ययनशील पार्टी
प्रत्येक तहमा राजनीतिक शिक्षा, अर्थशास्त्र, विज्ञान, प्रविधि, अन्तर्राष्ट्रिय राजनीति, संविधान र समसामयिक समाजबारे अध्ययन गर्ने संस्कार हुने।
१२. जनताको आकर्षण फेरि कसरी फर्काउने ?
जनतालाई कम्युनिस्ट बनाउने अभियानभन्दा पहिले कम्युनिस्ट पार्टीलाई जनताको पार्टी बनाउने अभियान आवश्यक छ।
किसानलाई उसको उत्पादनको उचित मूल्य चाहिएको छ।
मजदुरलाई सम्मानजनक रोजगारी, उचित ज्याला र सामाजिक सुरक्षा चाहिएको छ।
युवालाई भविष्य चाहिएको छ।
दलितलाई सम्मान र समान अवसर चाहिएको छ।
आदिवासी जनजातिलाई पहिचान, सहभागिता र अधिकार चाहिएको छ।
महिलालाई समानता र सुरक्षित सार्वजनिक जीवन चाहिएको छ।
मध्यम तथा निम्न आय भएका परिवारलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारीको भरोसा चाहिएको छ।
यी प्रश्नलाई पार्टीको दैनिक राजनीतिक कामसँग जोड्नुपर्छ।
जनताको वास्तविक समस्या नै पार्टीको दैनिक एजेण्डा बन्नुपर्छ।
१३. नयाँ पार्टीको पहिलो कार्यक्रम-जनतासँग पुनःसम्बन्ध
अब ठूलो सभा गरेर मात्र पुग्दैन।
हरेक नेता र कार्यकर्ताले निश्चित समय जनताबीच बिताउने व्यवस्था गर्नुपर्छ।
एक नेता-एक जनसमुदाय।
एक कार्यकर्ता-एक सामाजिक जिम्मेवारी।
एक संगठन-एक स्थानीय जनसमस्या।
कुनै गाउँमा खानेपानी छैन भने पार्टीले त्यो समस्या उठाओस्।
किसानले बजार नपाएको छ भने पार्टी उसको साथमा उभियोस्।
मजदुरले पारिश्रमिक पाएको छैन भने पार्टी श्रमिकसँग उभियोस्।
युवाले रोजगारी खोजिरहेको छ भने पार्टी समाधानको नीति लिएर जाओस्।
त्यसपछि मात्र जनताले भन्नेछन्-
“यो पार्टी चुनावका बेला मात्र आउँदैन, हाम्रो दुःखमा पनि आउँछ।”
१४. सत्ता पाउँदा वर्गलाई नबिर्सने प्रतिबद्धता
कम्युनिस्ट आन्दोलनको सबैभन्दा कठोर परीक्षा प्रतिपक्षमा हुँदा होइन, सत्तामा हुँदा हुन्छ।
सत्तामा पुगेपछि कसको पक्षमा नीति बनाइयो ?
कसको जीवन बदलियो ?
कसले अवसर पायो ?
स्रोत र साधन कहाँ केन्द्रित भए ?
किसानको जीवनमा के परिवर्तन आयो ?
मजदुरको जीवनमा के परिवर्तन आयो ?
युवाको भविष्यमा के परिवर्तन आयो ?
यदि यी प्रश्नको सन्तोषजनक उत्तर छैन भने सत्ता प्राप्ति मात्र उपलब्धि होइन।
सत्ता साधन हो; सामाजिक रूपान्तरण लक्ष्य हो।
१५. समाजवाद भाषणबाट होइन, संस्थाबाट निर्माण हुन्छ
२१औँ शताब्दीको वैज्ञानिक समाजवाद भन्नाले केवल पुराना नाराको पुनरावृत्ति होइन।
यसका लागि-
उत्पादन वृद्धि,
श्रमको सम्मान,
रोजगारी,
सामाजिक सुरक्षा,
सार्वजनिक शिक्षा र स्वास्थ्य,
वैज्ञानिक कृषि,
सहकारी तथा सामुदायिक उत्पादन,
प्रविधिमा पहुँच,
उत्पादनमूलक अर्थतन्त्र,
न्यायपूर्ण वितरण,
भ्रष्टाचार नियन्त्रण र
लोकतान्त्रिक सहभागिता
जस्ता संस्थागत आधार आवश्यक छन्।
नेपालको संविधानले पनि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताबाट आर्थिक वृद्धि, न्यायपूर्ण वितरण र समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य राखेको छ।
त्यसैले अब समाजवादलाई नाराबाट नीति, कार्यक्रम र परिणाममा रूपान्तरण गर्नुपर्छ।
१६. संगठनको नयाँ मूल्याङ्कन प्रणाली
अब पार्टीभित्र जिम्मेवारीको मूल्याङ्कन केवल वरिष्ठता वा नजिकपनबाट होइन, निश्चित सूचकबाट हुनुपर्छ।
विचारमा स्पष्टता-२०%
जनसम्बन्ध-२०%
संगठन निर्माण-२०%
इमानदारी र जीवन आचरण-१५%
कामको परिणाम-१५%
अध्ययन, सिर्जनशीलता र नयाँ पुस्तासँग सम्बन्ध-१०%
यस्तो मापदण्डले संगठनलाई व्यक्तिकेन्द्रित होइन, योग्यताकेन्द्रित बनाउँछ।
१७. नेतृत्वको नयाँ परिभाषा
अब नेता भनेको अगाडि बस्ने मानिस होइन।
नेता भनेको-
अरूलाई अवसर दिने मानिस हो।
आलोचना सुन्न सक्ने मानिस हो।
आफ्नो गल्ती स्वीकार गर्न सक्ने मानिस हो।
संकटमा कार्यकर्तासँग उभिने मानिस हो।
जनताको घरमा पुग्न सक्ने मानिस हो।
साधारण जीवन बाँच्न सक्ने मानिस हो।
आफ्नो उत्तराधिकारी तयार गर्न सक्ने मानिस हो।
आफूभन्दा राम्रो नेतृत्व जन्माउन सक्ने मानिस हो।
जो आफूभन्दा अरू कोही अगाडि नआओस् भन्ने चाहन्छ, उसले संगठन बनाउँदैन-
आफ्नो घेरा बनाउँछ।
१८. पुस्ता होइन, संस्कार बदलौँ
हामीलाई केवल पुरानो पुस्ता हटाएर नयाँ पुस्ता ल्याउने होइन।
पुरानो खराब संस्कार बोकेको नयाँ पुस्ता पनि उस्तै समस्या हो।
त्यसैले प्रश्न “को पुरानो, को नयाँ ?” होइन।
प्रश्न हो-
“को रूपान्तरित ?”
पुरानो पुस्तामा त्याग, संघर्ष र अनुभव छ भने त्यसलाई सम्मान गरौँ।
नयाँ पुस्तामा ऊर्जा, प्रविधि र नयाँ सोच छ भने त्यसलाई अवसर दिऔँ।
तर दुवैलाई जोड्ने कुरा हुनुपर्छ-
विचार, अनुशासन, जनपक्षधरता र रूपान्तरण।
१९. पुनर्जागरणको पहिलो पाइला
आज नेपाली समाजमा नयाँ राजनीतिक शक्तिहरूको उदयलाई केवल उनीहरूको आफ्नै विचार र एजेण्डाको सफलताका रूपमा बुझेर पुग्दैन। त्यसमा स्थापित राजनीतिक शक्तिहरूप्रतिको असन्तुष्टि, शासनप्रतिको निराशा र पुराना राजनीतिक संस्कारप्रतिको वितृष्णाको भूमिका पनि खोजिनुपर्छ। हालको राजनीतिक विश्लेषणले पनि कम्युनिस्ट दलहरूको जनविश्वास र युवा पुस्तासँगको सम्बन्धमा आएको क्षयलाई संकटको महत्वपूर्ण पक्ष मानेको छ।
त्यसैले कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको पहिलो पाइला नयाँ नारा होइन।
जनतासामु इमानदार स्वीकारोक्ति हो।
हामीले भन्न सक्नुपर्छ-
हामीबाट गल्ती भयो।
हामी जनताबाट टाढियौँ।
हामीले कतिपय ठाउँमा विचारभन्दा पदलाई प्राथमिकता दियौँ।
हामीले योग्य कार्यकर्तालाई उपेक्षा गर्‍यौँ।
हामीले गुटगत मानसिकतालाई बढावा दियौँ।
हामीले अवसर वितरणमा न्याय गर्न सकेनौँ।
हामीले सत्तालाई साधनभन्दा कहिलेकाहीँ लक्ष्य बनायौँ।
अब त्यो दोहोरिँदैन।
यही प्रतिबद्धतासहित जनतामा फर्किनु नै पुनर्जागरणको पहिलो पाइला हो।
२० अरूमात्र बदलिने कि आफु पहिला ?
अब हामीले एउटा कठोर निर्णय गर्नुपर्ने समय आएको छ।
मुख्य नेतृत्वको आलोचना गर्न सजिलो छ।
नेतृत्व परिवर्तन माग्न सजिलो छ।
अरूको जीवनशैलीमाथि प्रश्न उठाउन सजिलो छ।
अरूको गुट देखाउन सजिलो छ।
तर आफूभित्रको गुटवाद तोड्न कठिन छ।
आफ्नो अवसर छोड्न कठिन छ।
आफ्नो गल्ती स्वीकार गर्न कठिन छ।
आफ्नो जीवनशैली बदल्न कठिन छ।
आफूभन्दा योग्य व्यक्तिलाई अगाडि बढाउन कठिन छ।
तर यही कठिन काम नगरी समाजवादको कुरा गर्नु राजनीतिक ढोङ्ग मात्र हुन्छ।
त्यसैले अब प्रत्येक नेता र कार्यकर्ताले आफैँसँग एउटा प्रश्न गर्नुपर्छ-
“म बदलिन तयार छु ?”
यदि उत्तर ‘हो’ हो भने आन्दोलनको भविष्य छ।
यदि उत्तर ‘होइन’ हो भने नयाँ झण्डा, नयाँ नारा र नयाँ पार्टीको नामले पनि पुरानै संकट दोहोरिनेछ।
निष्कर्ष : अब ती दिन गए
अब आफू र आफ्ना मात्र वरिपरि राखेर संगठन चलाउने दिन गए।
अब पदलाई निजी सम्पत्ति ठान्ने दिन गए।
अब आलोचकलाई शत्रु र चाप्लुसलाई आफ्ना ठान्ने दिन गए।
अब योग्यलाई पाखा लगाएर अरौटे–भरौटेलाई अवसर दिने दिन गए।
अब भ्रष्टाचार, कमिसन, दलाली र अनैतिक आचरणसँग सम्झौता गर्ने दिन गए।
अब अरूको रूपान्तरण माग्दै आफूचाहिँ उस्तै बस्ने दिन गए।
अब नीति, विधि र पद्धतिभन्दा बाहिर किमार्थ हुँदैन।
हामीले बनाउने पार्टी यस्तो होस्-
जहाँ सबैको सम्मान होस्,
सबैको अपनत्व होस्,
सबैको भूमिका होस्।
जहाँ नेता कार्यकर्ताभन्दा माथि होइन, कार्यकर्ताको विश्वासको जिम्मेवार व्यक्ति होस्।
जहाँ कार्यकर्ता पदका लागि होइन, विचार र समाज परिवर्तनका लागि काम गरोस्।
जहाँ किसानले आफ्नो आवाज भेटोस्।
जहाँ मजदुरले आफ्नो शक्ति भेटोस्।
जहाँ दलितले सम्मान भेटोस्।
जहाँ आदिवासी जनजातिले अपनत्व भेटोस्।
जहाँ महिलाले समान अवसरब भेटून्।
जहाँ युवाले भविष्य भेटोस्।
जहाँ सीमान्तकृत मानिसले न्याय भेटोस्।
र जहाँ जनताले फेरि भन्न सकून्-
“यो पार्टी हामीलाई शासन गर्न होइन, हामीसँग मिलेर समाज बदल्न आएको पार्टी हो।”
त्यस दिन कम्युनिस्ट आन्दोलन पुनः जनताको आशा बन्नेछ।
त्यस दिन समाजवाद नारा रहने छैन-निर्माणको परियोजना बन्नेछ।
र त्यस यात्राको पहिलो कदम कुनै अर्को मानिसले चाल्नुपर्ने छैन।
हामी आफैँबाट सुरु गर्नुपर्छ।
किनकि अब ती दिन गए-
आफू र आफ्ना मात्र होइन,
सबैका लागि पार्टी।
पदका लागि होइन,
परिवर्तनका लागि राजनीति।
भाषणका लागि होइन,
व्यवहारका लागि विचार।
र अरूलाई बदल्नुअघि-
आफूलाई बदल्ने प्रतिबद्धता।
यही हो, २१औँ शताब्दीको वैज्ञानिक समाजवादी क्रान्तिको पहिलो र सुरुवाती पाइला !!
अस्तु

लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।

Comments are closed

Related Post