वासु दुलाल
नेपाली राजनीति आज निर्णायक मोडमा उभिएको छ। नागरिकहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तन भावनामा होइन, विवेक र विचारमा आधारित हुनुपर्छ भन्ने चेतना पनि क्रमशः बलियो हुँदै गएको छ। यही सन्दर्भमा देशका केही चर्चित राजनीतिक पात्रहरूको भूमिकामाथि गम्भीर समीक्षा गर्नु आजको आवश्यकता हो।
केपी शर्मा ओली तीनपल्ट प्रधानमन्त्री बन्नुभयो। प्रत्येक कार्यकालमा उहाँले स्थायित्वको दाबी गर्नुभयो, तर व्यवहारमा देशले बारम्बार अस्थिरता भोग्नुपर्यो। बहुमत र दुई–तिहाइ जस्तो बलियो आधार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिनु र त्यसलाई सर्वोच्च अदालतले उल्ट्याउनु यी घटनाहरूले लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाए।
त्यसैबीच भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध आवाज उठाएका युवाहरूको आन्दोलनलाई राज्यले कसरी सम्बोधन गर्यो भन्ने विषय पनि गम्भीर बहसको विषय बन्यो। संवाद र सुधारको बाटो छोडेर दमनतर्फ उन्मुख हुने प्रवृत्तिले राज्य र नागरिकबीचको दूरी झन् बढायो। परिणामतः देशले अनावश्यक आर्थिक भार बोकेर समयअगावै पुनः चुनावको सामना गर्नुपर्यो।
अर्कोतर्फ, बालेन्द्र शाह लोकप्रियता र सामाजिक सञ्जालमार्फत उदाएका नयाँ पुस्ताका प्रतिनिधि। काठमाडौं महानगरको नेतृत्वमा देखिएको सक्रियता र स्पष्ट बोलीले उहाँलाई चर्चाको केन्द्रमा ल्यायो। तर राष्ट्रिय संकट, महाविपत्ति र गम्भीर राजनीतिक घटनाहरूको समयमा देखिएको मौनता, र महानगरवासीसँग गरिएको प्रतिबद्धता छाडेर सत्ता–राजनीतिमा प्रवेश गरेको आशंकाले उहाँको भूमिकामाथि प्रश्न खडा गरेको छ।
लोकप्रियता आफैंमा खराब होइन, तर लोकप्रियता मात्र नेतृत्वको आधार बन्न सक्दैन। देश चलाउन त नीति, कार्यक्रम, विचार र संस्थागत अनुशासन आवश्यक पर्छ। “म” केन्द्रित सोचले होइन, समाजका अन्तरविरोध बुझ्ने, तिनलाई केलाउने र समाधानतर्फ लैजाने सामूहिक नेतृत्वले मात्र देश अगाडि बढ्छ।
आज संसदलाई उत्तेजक भाषण होइन, समाधानमुखी बहस चाहिएको छ। युवालाई नाराभन्दा दृष्टि (Vision) चाहिएको छ। निराशालाई व्यवस्थापन गर्न सक्ने, लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध, र संसदको गरिमालाई बुझ्ने नेतृत्व अपरिहार्य छ।
यही सन्दर्भमा, युवा पुस्ताबाट आएका र वैकल्पिक राजनीतिक संस्कारको प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारहरूलाई गम्भीर रूपमा हेर्नुपर्ने बेला आएको छ। रन्जित तामाङजस्ता युवा उम्मेदवार चमत्कारको वाचा गर्दैनन्, तर लोकतान्त्रिक प्रक्रिया, सामाजिक न्याय र जवाफदेही राजनीतिमा विश्वास राख्ने संकेत दिन्छन्। यही गुण नै आजको नेपाली राजनीतिमा सबैभन्दा ठूलो आवश्यकता हो।
नरसंहार, राज्यदमन र महाविपत्तिका विरुद्ध स्पष्ट अडान लिन सक्ने साहस, र भविष्यलाई विवेकसहित दिशानिर्देश गर्न सक्ने क्षमता यही आधारमा मतदाताले निर्णय गर्नुपर्ने समय आएको छ।
यसपल्ट प्रश्न व्यक्ति होइन, राजनीतिक संस्कार र दिशा हो।
त्यसैले भन्नुपर्ने हुन्छ
सरी बा, सरी बालेन।














Comments are closed