काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगर निवासी तथा सरस्वती आधारभूत विद्यालय, दक्षिणवागाह नर्सरीमा अध्ययनरत बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले गम्भीर दुःख व्यक्त गर्दै घटनाको घोर भर्त्सना गरेको छ।
जिल्ला संयाेजक जय प्रकाश थारुले जारी गरेकाे विज्ञप्ति अनुसार गरिमा साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन्। खोजीका क्रममा भदौ २ गते आफ्नै घरनजिकैको एक घरमा विभत्स र अमानवीय ढंगले बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो।
उनले पछिल्लो समय तराईसहित देशका विभिन्न भूभागमा बढ्दै गएका अमानवीय, क्रूर तथा जघन्य आपराधिक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
यस्ता घटना रोक्न प्रहरी प्रशासन तथा सम्बन्धित निकायले उच्च सतर्कता र निगरानी बढाउनुपर्ने भन्दै पार्टीले आम नागरिकको जिउधन तथा भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
साथै, विज्ञप्तिमा भनिएको छ,` सबै नागरिकलाई आपसी समन्वय र सतर्कता अपनाउँदै सुरक्षित रहन अपिल गरेको छ।´ घटनामा ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
संयाेजक शाहले विज्ञप्ति मर्फता नेपालको विद्यमान कानुन संशोधन गरेर भए पनि यस्ता जघन्य अपराधमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।














Comments are closed