Shopping cart

  • Home
  • समाज
  • नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय

नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा

Email :26

बैंकक। नेपालमूलकी प्रतिभाशाली युवती मेनुका गौतम (कियारा) पविचाया कैथालोएङचाइ लाई मिस युनिभर्स सङ्खला (Miss Universe Songkhla) को उपाधि जितेको अवसरमा Thai-Nepali Association Youth Department ले विशेष स्वागत तथा सम्मान गरेको छ।
बैंककमा आयोजित कार्यक्रममा कियारालाई सम्मानपत्र, मायाको चिनो तथा शुभकामना प्रदान गर्दै आयोजकले उनको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा माथि उठेर नेपालमूलका नेपाली तथा थाई–नेपाली समुदायको साझा गौरवका रूपमा व्याख्या गरेको छ।
कार्यक्रममा बोल्दै युवा विभागका पदाधिकारीहरूले कियाराले अब सङ्खला प्रान्तको प्रतिनिधित्व गर्दै मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न लाग्नु नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनीहरूले कियाराको आत्मविश्वास, मेहनत, नेतृत्व क्षमता र व्यक्तित्वले थाइल्यान्डमा रहेका नेपाली मूलका युवायुवतीलाई नयाँ प्रेरणा दिएको उल्लेख गरे।
सहभागीहरूले विदेशमा हुर्किए पनि कियाराले नेपाली भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालमूलका नेपालीको पहिचानलाई स्थापित गरेको भन्दै प्रशंसा गरे। नेपाली भाषा पढ्न, लेख्न र बोल्न सक्ने उनको क्षमताले नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ थियो।
संस्थाका अनुसार कियारा मिस युनिभर्स थाइल्यान्ड प्रतियोगितामा नेपालमूलकी प्रतिनिधिका रूपमा सहभागी हुने पहिलो युवती हुन्। उनको उपलब्धिले भविष्यमा नेपालमूलका अन्य युवायुवतीलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, पीएनओका अध्यक्ष कुमार कार्की तथा एनआरएन अभियन्ता सञ्जय ढकाल ले कियारालाई मिस युनिभर्स सङ्खलाको उपाधि जितेकोमा हार्दिक बधाई तथा आगामी मिस युनिभर्स थाइल्यान्ड प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
उनीहरूले कियाराको सफलताले विश्वभर रहेका नेपालमूलका नेपाली समुदायको प्रतिष्ठा र पहिचानलाई थप उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय उपाधि हासिल गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। साथै, उनको उपलब्धिले विदेशमा रहेका नेपाली युवायुवतीलाई आफ्नो प्रतिभा, भाषा, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न थप प्रेरणा दिने बताएका छन्।
Thai-Nepali Association Youth Department ले पनि कियाराको आगामी यात्रामा निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले कियाराले मिस युनिभर्स थाइल्यान्ड हुँदै अन्तर्राष्ट्रिय मिस युनिभर्स मञ्चसम्म पुगेर नेपालमूलका नेपाली समुदायको गौरवलाई अझ उँचो बनाउने विश्वास व्यक्त गरेको छ।

Comments are closed

Related Post