Shopping cart

  • Home
  • समाज
  • नेपाल–चीन सम्बन्ध : सहकार्यको फराकिलो क्षितिज नामक दुई दिने अन्तर्राष्ट्रिय काष्ठमण्डप संवाद आयोजना हुने
देश

नेपाल–चीन सम्बन्ध : सहकार्यको फराकिलो क्षितिज नामक दुई दिने अन्तर्राष्ट्रिय काष्ठमण्डप संवाद आयोजना हुने

Email :77

काठमाडौं । फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजम (एफपिडिएस) ले आयोजना गर्ने
“काष्ठमण्डप संवादको तेस्रो शृङ्खला आगामी
सेप्टेम्बर १२ र १३ गते काठमाडौंको लाजिम्पाटस्थित रेडिसन होटलमा हुने भएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औं वार्षिकोत्सवको अवसर पारेर आयोजना हुन लागेको यस संवादको विषय “नेपाल-चीन सम्बन्ध: सहकार्यको फराकिलो क्षितिज” रहेको छ ।

छलफल, संवाद, व्यापार र सभ्यतागत आदानप्रदानको सामाजिक थलोको रुपमा रहेको काष्ठमण्डपको ऐतिहासिक सन्दर्भलाई सम्झँदै आयोजक प्रतिष्ठानले सोही परम्परालाई समकालीन रूपमा पुनर्जीवित गर्ने उद्देश्यले यो काष्ठमण्डप संवाद शृङ्खला सञ्चालन गर्दै आएको छ । आयोजक प्रतिष्ठानले यसअघि सन् २०२४ मार्चमा “The BRI Meets Nepal” र सन् २०२५ अगस्टमा “What the MCC Brings to Nepal” विषयमा क्रमशः काष्ठमण्डप संवादको पहिलो र दोस्रो श्रृंखला सम्पन्न भइसकेको छ । यो तेस्रो श्रृङ्खलाले एकल-परियोजनामा केन्द्रित छलफलबाट माथि उठेर नेपाल-चीन द्विपक्षीय सम्बन्धको सर्वाङ्गीण मूल्याङ्कन गर्ने विश्वास आयोजक प्रतिष्ठानले लिएको छ ।
उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री तथा आयोजक प्रतिष्ठानका संरक्षक माननीय झलनाथ खनाल, नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय शिशिर खनाल र चीनका राजदूत महामहिम डा. झाङ माओमिङले कि नोट स्पिच दिने कार्यक्रम रहेको छ ।
दुई दिनसम्म चल्ने यस संवादमा पाँचवटा विषयगत सेसन रहेका छन् । पहिलो सेसनमा नेपाल-चीन सम्बन्धका लागि विकसित हुँदै गएको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिवेशको बारेमा गहिरो छलफल हुनेछ, दोस्रो सेसनमा पार्टी निर्माण र सुशासनसम्बन्धी अनुभव आदानप्रदानको विषयमा गहिरो छलफल हुनेछ, उक्त सेसनको अध्यक्षता नै पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्नुहुनेछ, जसमा चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी स्कुल तथा पार्टी निर्माण विभागबाट अनलाइन (जुम) मार्फत यस सेसनमा जोडिनुहुनेछ । त्यसैगरी तेस्रो सेसनमा भूराजनीति, व्यापार तथा सम्पर्क र जलवायु उत्थानशीलता एवं सीमापार जोखिम न्यूनीकरणको विषयमा गहिरो प्राकृतिक छलफल हुनेछ । चौथो सेसनमा सांस्कृतिक तथा जनस्तरीय सहकार्यको विषयमा छलफल हुनेछ र अन्तिम सेसनमा र नव पुस्ताको मित्रता निर्माणमा आजको युवाको भूमिकाको विषयमा छलफल हुनेछ, जसमा धेरै युवाहरूको सहभागिता हुने अपेक्षा आयोजक प्रतिष्ठानले गरेको छ।

यस संवादमा नेपालका प्रमुख राजनीतिक दलका नेता, वरिष्ठ कूटनीतिज्ञ, प्राज्ञिक व्यक्तित्व, रणनीतिक विश्लेषक, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा उदीयमान
युवा नेतृत्वसहित करिब २०० जना विशिष्ट सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै नेपालका प्रतिष्ठित विश्वविद्यालय बाहेक चीनका सिचुआन विश्वविद्यालय, वुहान विश्वविद्यालय, सिजाङ मिन्जु विश्वविद्यालयका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ। यसअघिका दुई संवादको परम्परालाई निरन्तरता दिँदै सम्पूर्ण कार्यपत्र, छलफल र सिफारिसहरू समेटेर सम्पादित प्रतिवेदनसमेत प्रकाशन गरिने आयोजक प्रतिष्ठानले जनाएको छ । यो तथ्यपरक तथा गहन छलफलले नेपालको राष्ट्रिय हितमा आधारित रणनीतिक छनोटलाई थप सुदृढ बनाउने विश्वास लिइएको आयोजक संस्थाका सचिव डा. शंकर खतिवडाले बताउनुभयो।

आयोजक संस्था फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिजम (एफपिडिएस) काठमाडौंमा कार्यालय रहेको गैरराजनीतिक, गैरसरकारी नीति अनुसन्धान प्रतिष्ठान हो, जसले काठमाडौं संवाद शृङ्खलामार्फत प्राज्ञिक अनुसन्धान, राजनीतिक नेतृत्व र कूटनीतिक अभ्यासबीच छलफलको लागि एउटा साझा मञ्च उपलब्ध गराउँदै आएको छ । काष्ठमण्डप संवादको तेस्रो श्रृङ्खलामा सहभागी हुनको लागि गुगल फर्म मार्फत ठूलो संख्यामा युवाहरूले निवेदन दिएको र कार्यक्रमको उद्देश्य अनुरूप सहभागिहरिको छनोट गरिने पनि आयोजक प्रतिष्ठानले जानकारी दिएको छ ।

Comments are closed

Related Post