Shopping cart

  • Home
  • स्वास्थ्य
  • चाँगुमा वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ, १ सय २३ जनाले गरे निःशुल्क स्वास्थ्य परीक्षण
देश

चाँगुमा वडाअध्यक्ष स्वास्थ्य कार्यक्रम शुभारम्भ, १ सय २३ जनाले गरे निःशुल्क स्वास्थ्य परीक्षण

Email :101

नबराज काफ्ले

चांगुनारायण,भक्तपुर

 

चाँगुनारायण नगरपालिका वडा नं.२ मा वडाअध्यक्ष स्वास्थ्य कार्यक्रमको शुभारम्भ भएको छ । प्राज्ञटोल सुधार समितिको आयोजनामा सञ्चालित यस कार्यक्रममा १ सय २३ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । कार्यक्रम अन्तर्गत ६६ जनाले आँखा परीक्षण गराएका छन् भने सुगर, इसिजी, कोलेष्ट्रोल र रक्तचाप जाँचको सेवा ६७ जनाले उपभोग गरेका छन् । यसैगरी राधाकृष्ण सत्संग भवन र मित्रश्री पाठशालामा आयोजित छुट्टै कार्यक्रम अन्तर्गत ३३ जना स्वयंसेवीले रक्तदान समेत गरेका छन् ।

कार्यक्रम सम्पन्न गर्न दुवाकोट स्वास्थ्य चौकी, प्रहरी प्रभाग दुवाकोट, मित्रश्री पाठशाला, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, प्राज्ञ आदर्श समाज, पातञ्जल योग समिति नेपाल र सुखी घरेलु उद्योगबीच सहकार्य रहेको थियो ।

कार्यक्रमको परिकल्पनाकार एवं चाँगुनारायण नगरपालिका वडा नं.२ का वडाअध्यक्ष सोमप्रसाद प्रधानले वडाभित्रको हरेक टोल र घरघरसम्म स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस कार्यक्रमलाई साप्ताहिक रूपमा निरन्तरता दिइने बताउनुभयो ।

दुवाकोट स्वास्थ्य चौकीका प्रमुख कुमार केसीले आफ्नो संस्थाबाट स्वास्थ्य परीक्षणका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराई कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याएको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी चाँगुनगर समितिका संयोजक मन्दिरा कार्कीले पनि कार्यक्रमको सफलतामा शुभकामना व्यक्त गर्नुभयो । प्रहरी प्रभाग दुवाकोटका प्रमुख खिलबहादुर दुलाल र मित्रश्री पाठशालाका प्रधानाध्यापक दीपक बिष्टले पनि कार्यक्रमप्रति आआफ्ना धारणा राख्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाकी कार्यवाहक सभापति प्रमिला प्रधानले वडाअध्यक्ष स्वास्थ्य कार्यक्रमकै अवसरमा मित्रश्री पाठशाला र राधाकृष्ण सत्संग भवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको र सोमा ३३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको जानकारी दिनुभयो ।

प्राज्ञ आदर्श समाजका अध्यक्ष नबराज काफ्लेले पनि कार्यक्रममा आफ्नो धारणा राख्दै यसलाई सामुदायिक स्वास्थ्य सेवाको उदाहरणीय पहलका रूपमा उल्लेख गर्नुभयो । कार्यक्रमको अन्त्यमा प्राज्ञटोल सुधार समितिका अध्यक्ष कपिल कार्कीले सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Comments are closed

Related Post