काठमाडौं । नेकपाका नेता झलनाथ खनालले घोषणा गरेको ‘समाजवादी जागरण अभियान’ तथा एमाले नेता सुरेन्द्र पाण्डेसहितका नेताहरूले नयाँ नागरिक अभियान अघि बढाएको सन्दर्भमा सामाजिक अभियन्ता गंगा गुरुङले कम्युनिस्ट पार्टीभित्रको फुट र एकताको प्रवृत्तिमाथि टिप्पणी गरेका छन्।
गुरुङले सामाजिक सञ्जालमा लेख्दै कम्युनिस्टहरूको प्रमुख समस्या नै पटक पटक आफैँ अलग हुने र फेरि एकताको अपिल गर्ने प्रवृत्ति भएको बताएका छन्।
उनले सामाजिक संजाल फेसवुकमा भनेका छन् ‘कम्युनिष्टहरूको महारोग, आफै अलग हुने, अनि फेरि एकताको अपिल गर्ने’ भन्दै उनले फुटको कारण व्यक्तिभन्दा विचार, कार्यशैली र संगठनात्मक संस्कृतिमा खोजिनुपर्ने धारणा राखेका छन्।
उनले कम्युनिस्ट एकता नेतृत्व मिलाउने सम्झौतामात्र नभएको उल्लेख गर्दै विचारमा स्पष्टता, व्यवहारमा अनुशासन, संगठनमा एकरूपता र जनताप्रति उत्तरदायित्वबाट मात्रै वास्तविक एकता निर्माण हुने बताएका छन्।
फुट र एकताको दोहोरिइरहने चक्र तोड्न आलोचना, आत्मालोचना, वैचारिक बहस र सामूहिक निर्णयलाई व्यवहारमै स्थापित गर्नुपर्ने उनको सुझाव छ।
‘कम्युनिष्ट एकता भाषणमा होइन, विचार र व्यवहारको एकरूपतामा देखिनुपर्छ,’ गुरुङले लेखेका छन्।
उनको टिप्पणी झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेको र अर्कोतर्फ सुरेन्द्र पाण्डेलगायत नेताहरूले गैरराजनीतिक नागरिक अभियान अघि बढाउने तयारी गरिरहेका बेला आएको हो।















Comments are closed