Shopping cart

  • Home
  • स्वास्थ्य
  • भोटेकोशी बाढीमा सरकारको भूमिकामाथि प्रजातान्त्रिक पार्टी नेपालको प्रश्न
देश

भोटेकोशी बाढीमा सरकारको भूमिकामाथि प्रजातान्त्रिक पार्टी नेपालको प्रश्न

Email :50

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाउँदै उद्धार, राहत, पूर्वसूचना र विपद् व्यवस्थापनमा सरकारको तयारीमाथि गम्भीर प्रश्न उठाएको छ।

सोमबार  पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष डा. तारानाथ लुईटेलले विपत्तिका बेला सरकार निरीह देखिएको आरोप लगाए। समयमै प्रभावकारी उद्धार हुन नसक्दा बचाउन सकिने मानिसले समेत ज्यान गुमाउनुपरेको भन्दै उनले सरकारको विपद् व्यवस्थापन क्षमता र गृह मन्त्रालयको कार्यसम्पादनमाथि प्रश्न उठाए।

लुईटेलले विपद्को समयमा गृह मन्त्रालयको जिम्मेवारी अझ स्पष्ट र प्रभावकारी हुनुपर्ने बताए। उद्धारका लागि आवश्यक सीपयुक्त जनशक्तिको अभाव देखिएको भन्दै उनले दक्ष जनशक्ति, उपकरण र पूर्वतयारीमा राज्यले लगानी बढाउनुपर्ने धारणा राखे।

उनले विपद् व्यवस्थापनसँगै नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। यद्यपि, गृह मन्त्रालयमा पृथ्वीनारायण शाहको तस्बिर राखिएको विषयलाई भने उनले सकारात्मक कदमका रूपमा उल्लेख गरे।

पार्टीका सह-अध्यक्ष विष्णु भट्टराईले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीलाई जलवायु परिवर्तन र बढ्दो कार्बन उत्सर्जनसँग जोडेर हेर्नुपर्ने बताए।

कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने विकसित मुलुकका गतिविधिको असर नेपालजस्ता हिमाली देशले भोग्नुपरेको उनको भनाइ थियो। हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा नियमित अनुगमन, अध्ययन र सुपरिवेक्षण आवश्यक रहेको उनले बताए।

भट्टराईले भविष्यमा युरेनियम उत्खननजस्ता गतिविधिले समेत थप वातावरणीय तथा प्राकृतिक जोखिम निम्त्याउन सक्ने भन्दै त्यस्ता विषयमा गम्भीर अध्ययन र निगरानी आवश्यक रहेको बताए।

भोटेकोशी बाढीबारे नेपालले १२ दिनअघि नै पूर्वसूचना पाएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै भट्टराईले त्यसको वास्तविकता सरकारले स्पष्ट पार्नुपर्ने माग गरे।

पूर्वसूचना प्राप्त भएको भए त्यसअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली परिचालन गर्ने तथा आवश्यक तयारी गर्ने काम किन प्रभावकारी रूपमा हुन सकेन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।

उनले विपद्को समयमा विभिन्न मुलुकबाट प्राप्त सहयोग महत्वपूर्ण भए पनि त्यसले नेपालले व्यहोरेको ठूलो मानवीय तथा भौतिक क्षति रोक्न नसकेको बताए।

प्रजातान्त्रिक पार्टी नेपालले विपद् आएपछि राहत र उद्धारमा मात्रै केन्द्रित हुने प्रवृत्तिको अन्त्य गर्दै पूर्वसूचना प्रणाली, दक्ष जनशक्ति, आवश्यक उपकरण, नियमित जोखिम मूल्याङ्कन र दीर्घकालीन विपद् व्यवस्थापन योजना बनाउनुपर्नेमा जोड दिएको छ।

सह-अध्यक्ष भट्टराईले ‘ग्रीन आर्मी’जस्ता सैन्य संगठन निर्माणको औचित्य तथा त्यससँग जोडिएका सम्भावित उद्देश्यबारे समेत गम्भीर समीक्षा गर्नुपर्ने बताए।

पार्टीले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको प्राकृतिक जोखिमलाई राष्ट्रिय प्राथमिकताको विषय बनाएर आन्तरिक तयारीसँगै अन्तर्राष्ट्रिय तहमा पनि प्रभावकारी पहल गर्न सरकारलाई आग्रह गरेको छ।

Comments are closed

Related Post