Shopping cart

  • Home
  • समाज
  • मुद्रण व्यवसायी महासंघमा विवाद चर्कियो : संस्थापक जिल्ला संघका अध्यक्षहरूद्वारा विशेष साधारणसभा माग
देश

मुद्रण व्यवसायी महासंघमा विवाद चर्कियो : संस्थापक जिल्ला संघका अध्यक्षहरूद्वारा विशेष साधारणसभा माग

Email :161

काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघका संस्थापक जिल्ला संघका अध्यक्षहरूले महासंघको आगामी अधिवेशन तथा साधारणसभा सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक परामर्श र वैधानिक प्रक्रिया अघि बढाउन माग गरेका छन्।

महासंघले आगामी २०८३ असोज ३ गते अधिवेशन तथा साधारणसभा गर्ने भनी प्रकाशित गरेको सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले महासंघको वर्तमान अवस्था जटिल र संवेदनशील बनेको बताएका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार विधिवत् दर्ता भएका १० जिल्ला संघहरू मिलेर निर्माण भएको नेपाल मुद्रण उद्योग महासंघले आफ्नो पहिलो र दोस्रो अधिवेशनअवधिमा ३० वटा जिल्ला संघ निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध हुन सफल भएको थियो। महासंघले विस्तारै गति लिँदै देशभरका मुद्रण व्यवसायीलाई समेट्ने लक्ष्य राखे पनि पछिल्लो समय जिल्ला संघहरू घट्दै गएकोप्रति संस्थापक पक्षले चिन्ता व्यक्त गरेको छ।

उनीहरूले महासंघको अधिवेशन तथा साधारणसभा आह्वान गर्ने प्रक्रियामा गम्भीर वैधानिक प्रश्न उठेको भन्दै महासंघका जिम्मेवार व्यक्तिहरूबाट सामाजिक सञ्जालमार्फत आएको प्रतिक्रियाले समेत आफूहरूको आशंकालाई पुष्टि गरेको दाबी गरेका छन्।

‘महत्त्वपूर्ण निर्णय लिनुअघि सरोकारवालासँग परामर्श आवश्यक’ भन्दै संस्थापक जिल्ला संघका अध्यक्षहरूले महासंघका जिम्मेवार पक्षसँग आवश्यक छलफल र परामर्श नगरी प्रक्रिया अघि बढाइएकोप्रति असन्तुष्टि जनाएका छन्। संस्थाको हितमा हुने निर्णयहरू वैधानिक हुनुपर्ने उनीहरूको जोड छ।

विज्ञप्तिमा विधानअनुसार नियमित अधिवेशन हुन सक्ने व्यवस्था रहे पनि विधानको विशेष व्यवस्थाअनुसार विशेष साधारणसभामार्फत निकास खोज्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। दीर्घकालीन र वैधानिक परिणाम ननिस्कने कुनै पनि काममा सहभागी हुनुको औचित्य नहुने भन्दै उनीहरूले सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा संस्थापक जिल्ला संघका तत्कालीन अध्यक्षहरू प्रेमकुमार उपाध्याय (काठमाडौं), कृष्ण पोखरेल (मोरङ), गणेश श्रेष्ठ (भक्तपुर), शेपराज दाहाल (सिन्धुली), सन्तोष खाँतिवडा (ताप्लेजुङ), नरसिंह धामी (कञ्चनपुर), महेश दाहाल (कैलाली) र ज्योतिलाल भण्डारी (बाँके) को नाम उल्लेख गरिएको छ।

उनीहरूले महासंघको एकता, संस्थागत मर्यादा र मुद्रण व्यवसायीहरूको हितलाई केन्द्रमा राखी वैधानिक तथा सर्वस्वीकार्य निकास खोज्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

Comments are closed

Related Post