Shopping cart

  • Home
  • समाज
  • असोज १६ बाट कांग्रेसको १५औँ महाधिवेशन सुरु हुने : गगन थापा
देश

असोज १६ बाट कांग्रेसको १५औँ महाधिवेशन सुरु हुने : गगन थापा

Email :85

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भइसकेको बताएका छन्। उनले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारे।

सानेपामा मंगलबार विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अब महाधिवेशनको तयारीमा समयको दबाब रहेकाले सबै तहले तोकिएको कार्यतालिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

उनका अनुसार पार्टीको विधान, नेपालको संविधान, विशेष महाधिवेशनबाट भएका निर्णय तथा अदालतको फैसलासमेतका कारण आगामी असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने अवस्था छ। छोटो समयमै धेरै काम सम्पन्न गर्नुपर्ने भएकाले निर्वाचन प्रक्रियामा खटिने सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने सभापति थापाले जानकारी दिए। केन्द्रीय महाधिवेशनअघि हुने वडा, पालिका, प्रदेशलगायत तहका अधिवेशन निर्वाचन समितिले तय गर्ने तालिकाअनुसार सञ्चालन हुने उनले बताए।

पार्टीभित्र महाधिवेशनको तयारी तथा केही विषयमा असन्तुष्टि जनाउँदै आएका नेताहरूसँग संवाद जारी रहेको पनि थापाले बताए। उनले मतभेदलाई छलफलमार्फत सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गरे।

महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउन आवश्यक समितिको गठन तथा अन्य विषयमा पनि छलफलका लागि आफू खुला रहेको थापाको भनाइ छ।

तर अब राजनीतिक बहससँगै महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढिसकेकाले निर्वाचन समितिले सार्वजनिक गर्ने कार्यतालिकालाई सबैले पालना गर्नुपर्नेमा उनले जोड दिए।

Comments are closed

Related Post