नवराज काफ्ले
चाँगुनारायण । ‘विपद् बाजा बजाएर आउँदैन, त्यसैले पूर्वतयारी नै उत्तम सुरक्षा हो’ भन्ने सन्देशसहित नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले स्थानीय विद्यालय तथा विभिन्न संस्थालाई प्राथमिक उपचार सामग्री वितरण गरेको छ।
उपशाखाले आफ्नै १ लाख ४ हजार ६ सय ९१ रुपैयाँ लगानीमा खरिद गरेका प्राथमिक उपचार किट (First Aid Kit) दुवाकोट क्षेत्रका ८ वटा विद्यालयसहित ११ संस्थालाई वितरण गरेको हो।
कार्यक्रममा चाँगुनारायण नगरपालिका-वडाका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो। वडा अध्यक्ष सोमप्रसाद प्रधानको प्रमुख आतिथ्य तथा रेडक्रस दुवाकोट उपशाखा सभापति प्रमिला प्रधानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दुवाकोट स्वास्थ्य चौकीका प्रमुख कुमार केसी र प्रहरी प्रभागका प्रमुख खिलबहादुर दुलालले सडक दुर्घटना, चोटपटक तथा आकस्मिक घटनामा तत्काल गरिने प्राथमिक उपचारले ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले प्राथमिक उपचारको ज्ञान र सामग्री हरेक घर, विद्यालय तथा सार्वजनिक संस्थाको पहुँचमा पुर्याउनुपर्नेमा जोड दिए।
नेपाल रेडक्रस सोसाइटी चाँगुनगर संयोजक मन्दिरा कार्की तथा वडा सदस्यहरू उमेश प्रधान, प्रेम खत्री, राधा माकाजु र सीता मिजारले विद्यालय तहबाटै प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप विकास गर्नुपर्ने बताए। उनीहरूले जुनियर रेडक्रस सर्कलमार्फत विद्यार्थीलाई नियमित प्राथमिक उपचार तालिम दिन सके विपद् तथा दुर्घटनाका बेला तत्काल सहयोग पुर्याउन सकिने धारणा राखे।
रेडक्रस दुवाकोट उपशाखाका संस्थापक सभापति शिवहरी केसी तथा सल्लाहकारहरू नवराज काफ्ले र दिनेश प्रधानले रेडक्रसका सात आधारभूत सिद्धान्त-मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र सार्वभौमिकता-अनुसार गरिने सामाजिक सेवाले संस्थाप्रतिको जनविश्वास अझ बलियो बनाउने बताए।
सचिव ऋषिराज खड्काको सहजीकरण र मदनकृष्ण न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्राथमिक उपचार सामग्री वितरणसँगै विपद् व्यवस्थापनमा समुदायको पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो।
सहभागी विद्यालयका प्रतिनिधिहरूले प्राथमिक उपचार किट वितरण आफैँमा सकारात्मक भए पनि यसको प्रभावकारिता सामग्रीको नियमित प्रयोग र त्यससम्बन्धी ज्ञानमा निर्भर हुने बताएका छन्। उनीहरूले शिक्षक तथा विद्यार्थीलाई व्यावहारिक प्राथमिक उपचार तालिम नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, वितरण गरिएका सामग्रीको अवस्था, प्रयोग तथा औषधिको म्यादबारे रेडक्रस उपशाखाले आवधिक अनुगमन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ। सामग्री वितरण गरेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै त्यसको उचित प्रयोग र संरक्षण सुनिश्चित गर्नुपर्ने सहभागीहरूको भनाइ छ।
चाँगुनारायण नगरपालिका तथा सम्बन्धित वडा कार्यालयले समेत वार्षिक विपद् व्यवस्थापन बजेटमार्फत रेडक्रसका यस्ता समुदायकेन्द्रित कार्यक्रमलाई दीर्घकालीन रूपमा सहयोग र बजेट विनियोजन गर्न सके स्थानीय तहमा विपद् पूर्वतयारीको संस्कृति अझ बलियो बन्ने देखिन्छ।
उद्धारपछि राहत खोज्नेभन्दा विपद् आउनुअघि नै तयारी गर्नु प्रभावकारी हुन्छ भन्ने सन्देशसहित दुवाकोट रेडक्रसले सुरु गरेको यो अभियानले विद्यालय र समुदायस्तरमा प्राथमिक उपचार तथा विपद् पूर्वतयारीको आवश्यकता थप उजागर गरेको छ।














Comments are closed