Email :55
धादिङ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पर्यटन फाँट उप-प्रमुख अञ्जन थापा (कुमार) ले आजको आधुनिक युगमा प्रविधिको सही प्रयोगविना संगठनलाई गतिशील र प्रतिस्पर्धी बनाउन नसकिने बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी, संघीय निर्वाचन क्षेत्र नं. २ धादिङको आयोजनामा आइतबार धादिङबेसीमा सम्पन्न ‘एक दिने अनलाइन सदस्यता नवीकरण तथा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) तालिम’ लाई सम्बोधन गर्दै थापाले उक्त कुरा बताउनुभएको हो।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका थापाले समयको माग अनुसार रूपान्तरणको सुरुवात प्रविधिबाटै हुनुपर्नेमा जोड दिनुभयो। “आजको समय विज्ञान र प्रविधिको हो, त्यसैले संगठनलाई पनि सोही अनुसार परिमार्जित गर्दै लैजानुको विकल्प छैन,” थापाले भन्नुभयो, “हामीले समय अनुसार आफूलाई ढाल्दै एआई जस्ता आधुनिक औजारको सही सदुपयोग गर्न सक्यौँ भने मात्रै पार्टी कामलाई नयाँ उचाइमा पुर्याउन सकिन्छ।” थापाले भन्नुभयो ।
उहाँले भन्नुभयो, “परम्परागत कार्यशैलीले मात्र अबको राजनीतिक आवश्यकता पूरा हुन सक्दैन। डिजिटल प्रविधिलाई दैनिक सांगठनिक कामकारबाहीमा जोड्न सके मात्र कार्यकर्ताको कार्यक्षमता अभिवृद्धि हुन्छ र संगठन चुस्त बन्छ।”
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका सात वटै पालिकाबाट नेता-कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा अनलाइन प्रणालीमार्फत सदस्यता विवरण भर्ने, नयाँ सदस्यता वितरण तथा नवीकरण गर्ने प्राविधिक विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो। साथै, आफ्नो दैनिकी र पार्टीका काममा एआई को प्रयोग कसरी गर्ने भन्नेबारे पनि सहभागीहरूलाई अभ्यस्त गराइएको थियो।
डिजिटल युग सुहाउँदो र प्रभावकारी संगठन निर्माणका लागि आयोजना गरिएको यो तालिमले आगामी दिनमा पार्टीका कामकारबाहीलाई छिटो-छरितो र व्यवस्थित बनाउन ठूलो सघाउ पुर्याउने अपेक्षा सहभागीहरूले लिएका छन्।














Comments are closed