नयाँदिल्ली। भारतका सर्वोच्च अदालतका न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरू लक्षित एउटा अभिव्यक्ति दिएका छन्। प्रणालीको आलोचना गर्ने युवामाथि दिएको उक्त बयानको सामाजिक सञ्जालमा कडा विरोध भएको छ। यसैको व्यङ्ग्यस्वरूप युवाहरूले ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक डिजिटल अभियान सुरु गरेका छन्। यो अनौठो अभियानले यतिबेला इन्टरनेटमा ठूलो तहल्का मच्चाइरहेको छ।
जस्टिस सूर्यकान्तले पछि आफ्नो बयानलाई सञ्चारमाध्यमले तोडमोड गरेर प्रस्तुत गरेको भन्दै स्पष्टीकरण दिए। तैपनि युवाहरूको आक्रोश र व्यङ्ग्य थामिएको छैन। यो अभियानअन्तर्गत ‘कक्रोच जनता पार्टी’ को आफ्नै वेबसाइट मात्र बनेको छैन, इन्स्टाग्राममा यसका फलोअर्सको सङ्ख्या ४० लाख (चार मिलियन) नाघिसकेको छ। दुई लाखभन्दा बढी युवाले यसको वेबसाइटमा सदस्यताका लागि आवेदन दिइसकेका छन्।
के हो ‘कक्रोच जनता पार्टी’ र कसरी भयो सुरुआत ?
यस भर्चुअल वा अनलाइन प्यारोडी (व्यङ्ग्यात्मक) पार्टीका संस्थापक तथा संयोजक महाराष्ट्रका युवा अभिजीत दीपके हुन्। दीपकेले यस अभियानको सुरुवातबारे बीबीसी मराठीसँग विस्तृत जानकारी दिएका छन्।
“मैले एक्स (ट्विटर) मा न्यायाधीशको बयान देखेँ। जहाँ उनले प्रणालीको आलोचना गर्ने युवाहरूलाई कक्रोच (साङ्लो) र परजीवी (प्यारासाइट) सँग तुलना गरिरहेका थिए,” उनी भन्छन्, “संविधानको रक्षक मानिने व्यक्तिले नै अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने युवालाई यसरी अपमान गरेपछि मलाई निकै रिस उठ्यो र निराशा पनि भएँ।”
त्यसपछि दीपकेले एक्समा एउटा जिज्ञासा राखे- “यदि सबै कक्रोचहरू एकै ठाउँमा आए भने के होला?” यस प्रश्नमा २५ वर्षमुनिका ‘जेन-जी’ युवाले उत्साहजनक प्रतिक्रिया दिँदै एउटा साझा प्लेटफर्म बनाउन सुझाव दिए। यहीँबाट ‘कक्रोच जनता पार्टी’ को अवधारणा जन्मियो।
सदस्य बन्न अनौठा मापदण्ड
यो पार्टीमा आबद्ध हुन दीपकेले तय गरेका योग्यताहरू पनि न्यायमूर्तिको बयानमाथि कडा व्यङ्ग्य हुन्। न्यायाधीशले युवाहरूलाई जुन-जुन शब्दले आलोचना गरेका थिए, तिनैलाई पार्टीको सदस्यता मापदण्ड बनाइएको छ।
आवेदक अल्छी हुनुपर्ने‚ बेरोजगार हुनुपर्ने र लगातार अनलाइन (इन्टरनेट) मा व्यस्त हुनुपर्ने मापदण्ड बनाइयो। यो व्यङ्ग्यात्मक जुक्तिले सामाजिक सञ्जालमा यति तीव्र रूपमा काम गर्यो कि हेर्दाहेर्दै लाखौँ युवा यसमा जोडिए।
नामुद व्यक्तिको समर्थन र डिजिटल क्षेत्रमा हलचल
यो अभियानलाई पूर्वक्रिकेटर तथा सांसद कीर्ति आजाद र तृणमूल कांग्रेस (टीएमसी) की सांसद महुआ मोइत्राजस्ता प्रभावशाली राजनीतिक व्यक्तित्वहरूले समेत समर्थन गरेका छन्। डिजिटल मार्केटिङका विज्ञहरू यसलाई डिजिटल मिडियामा आएको एउटा ठूलो हलचलका रूपमा हेर्छन्।
यति छोटो समयमा पाएको सफलताको श्रेय दीपके आफ्नो व्यक्तिगत प्रयासलाई दिँदैनन्। उनी भन्छन्, “करोडौँ रुपैयाँ खर्च गरेर कुनै राजनीतिक दल वा डिजिटल एजेन्सीले यस्तो प्रतिक्रिया पाउन सक्दैनन्। यो वर्षौंदेखि युवाहरूमा थुप्रिएको बेरोजगारी र सरकारी विफलताप्रतिको आक्रोशको परिणाम हो।”
को हुन् संस्थापक अभिजित?
महाराष्ट्रको छत्रपति सम्भाजीनगर (औंरगावाद) का स्थायी बासिन्दा अभिजीत दीपकेले पुणेबाट स्नातक तह पूरा गरेका हुन्। केही समय उनले ‘आम आदमी पार्टी’ (आप) को सञ्चार टोलीमा रहेर शिक्षा र स्वास्थ्य क्षेत्रको राजनीतिमा काम गरेका थिए।
पछि थप अध्ययनका लागि उनी अमेरिकाको बोस्टन युनिभर्सिटी गए र हालै मात्र त्यहाँबाट आफ्नो स्नातकोत्तर (मास्टर्स) तह पूरा गरेका छन्। उनी छिटै भारत फर्किएर यो युवा अभियानलाई थप अगाडि बढाउने योजनामा छन्।
घोषणापत्र र न्यायपालिकामाथि प्रश्न
‘कक्रोच जनता पार्टी’ ले एउटा डिजिटल घोषणापत्र (मेनिफेस्टो) समेत सार्वजनिक गरेको छ। जसले वर्तमान भारतीय राजनीतिक र लोकतान्त्रिक अवस्थामाथि प्रहार गर्छ।
सेवानिवृत्त भएपछि सरकारी सेवा वा लाभको पद लिने न्यायाधीशहरूको प्रवृत्तिको विरोध गर्दै न्यायपालिका स्वतन्त्र रहनुपर्ने माग। साथै महिलाहरूका लागि राजनीति र संसद्मा ३३ प्रतिशत नभई सिधै ५० प्रतिशत आरक्षण हुनुपर्ने माग।
नेपाल, श्रीलंका र बंगलादेशका जेन-जीसँग तुलना
नेपाल र श्रीलंकामा भएका पछिल्ला राजनीतिक परिवर्तन र युवा आन्दोलनसँग भारतीय युवाहरूको तुलना गर्दै दीपके भन्छन्‚ “भारतीय जेन-जीलाई छिमेकी देशका युवासँग तुलना गर्नु अपमानजस्तै हुनेछ। किनभने भारतीय युवा हिंसाको बाटो रोजिरहेका छैनन्। उनीहरू कक्रोचको पहिरन (कस्ट्युम) लगाएर यमुना नदी सफा गर्दै छन्। फोहोर उठाइरहेका छन् र व्यङ्ग्यको माध्यमबाट प्रणालीलाई गिज्याइरहेका छन्।’
उनी थप्छन्, “आजका युवापुस्ता वर्तमान मन्त्रीमण्डलभन्दा बढी शिक्षित छ। हामीमाथि अशिक्षित मानिसहरूले किन शासन गरिरहेका छन् भन्ने प्रश्न अब उठ्न थालेको छ। युवाहरू अब हिन्दु-मुस्लिमको एजेन्डाबाट थाकिसकेका छन् र प्रविधिमैत्री एवं रोजगारमुखी परिवर्तन चाहन्छन्।”
चौथो दिनमै दुई लाखभन्दा बढी दर्ता भएका सदस्यहरू पाउनुले भारतीय युवा अब आफ्नो छुट्टै राजनीतिक मोर्चा (पोलिटिकल फ्रन्ट) चाहन्छन् भन्ने संकेत गरेको दीपकेको दाबी छ।
-बीबीसी हिन्दी














Comments are closed