Shopping cart

  • Home
  • मुख्य समाचार
  • नेकपा सोलुखुम्बुमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेहरुकाे लहर तीव्र
देश

नेकपा सोलुखुम्बुमा अन्य पार्टी परित्याग गरी प्रवेश गर्नेहरुकाे लहर तीव्र

Email :58

सोलुखुम्बु। नेकपा एमाले तथा विभिन्न राजनीतिक दल परित्याग गरी चार जना सक्रिय स्थानीय युवा तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेहरूमा माप्य दुधकोशी गाउँपालिका–२, ठूलोढुङ्गाका तुल मगर र बालधन मगर तथा सोही वडा अन्तर्गत लपका प्रेम मगर र बालकृष्ण मगर रहेका छन्।

 

उनीहरूलाई आयोजित एक विशेष कार्यक्रममा नेकपाका जिल्ला तथा क्षेत्रीय नेताहरूले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थाबीच जनताको पक्षमा स्पष्ट वैचारिक धार र संघर्षशील भूमिकाका कारण नेकपा प्रति जनआकर्षण बढ्दै गएको उल्लेख गरे।

 

नवप्रवेशीहरूले समेत आफूहरू जनताका मुद्दा र परिवर्तनको एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्ने पार्टीको आवश्यकता महसुस गर्दै नेकपामा आबद्ध भएको बताए। उनीहरूले अब गाउँ–टोलमा पार्टीको विचार, नीति र कार्यक्रम पुर्‍याउने तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

 

सोलुखुम्बुको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा नेकपाबाट असिम राई उम्मेदवार रहेका छन्। पछिल्लो समय विभिन्न पार्टीबाट नेता, कार्यकर्ता तथा समर्थकहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले जिल्लामा पार्टीको पक्षमा सकारात्मक र उत्साहजनक माहोल सिर्जना भएको नेताहरूको भनाइ छ।

 

विशेषगरी माप्य दुधकोशी क्षेत्रका युवाहरूबीच पार्टीप्रतिको आकर्षण बढ्दै गएको र स्थानीय स्तरमा संगठन विस्तार तथा जनसंपर्क अभियान तीव्र पारिएको बताइएको छ। नेताहरूले अबको निर्वाचन वैचारिक स्पष्टता, जनपक्षीय प्रतिबद्धता र विकासको ठोस कार्यक्रमका आधारमा हुने भन्दै नेकपा सोलुखुम्बुमा बलियो शक्तिका रूपमा उभिँदै गएको दाबी गरेका छन्।

 

जिल्लामा देखिएको प्रवेशी लहरलाई नेकपाले सकारात्मक संकेतका रूपमा लिएको छ। पार्टीका अनुसार विभिन्न दलप्रति असन्तुष्टि बढ्दै जाँदा जनताले वैकल्पिक शक्ति खोजिरहेका छन् र त्यसको केन्द्र नेकपा बन्दै गएको छ। आगामी दिनमा अझै व्यापक रूपमा प्रवेश कार्यक्रम सञ्चालन गरिने र संगठनात्मक संरचना मजबुत बनाइने जानकारी दिइएको छ।

यसरी निरन्तर बढिरहेको प्रवेशी संख्या र कार्यकर्ताको सक्रियताले सोलुखुम्बुमा नेकपाको चुनावी आधार थप मजबुत बन्दै गएको संकेत गरेको छ।

Comments are closed

Related Post