बासु दुलाल
नेतृत्व पुस्ताले मात्र होइन, देशप्रेम विचार र इमान्दारिताले तय गर्नुपर्छ राजनीतिक दलहरूको नेतृत्व पुस्ताले गर्ने हो कि विचार, कार्यक्रम, योजना, इमान्दारिता र जनसेवाप्रतिको सक्रियताले गर्ने हो ? आज यही गम्भीर प्रश्न नेपाली राजनीतिक बहसको केन्द्रमा छ।
कतिपयले पुस्तान्तरणको एकोहोरो नारालाई अगाडि सारिरहेका छन् भने कतिपयले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन्। तर के केवल उमेरको आधारमा नेतृत्व योग्य हुन्छ ? म भन्न चाहन्छु – नेपाली राजनीतिको यथार्थ त्यो भन्दा भिन्न छ।
विगत लामो समयदेखि अधिकांश दलहरूको नेतृत्व एकै व्यक्तिको हातमा केन्द्रित रह्यो। सत्तामा बसिरहने प्रवृत्तिले गुटबन्दी, चाकडी संस्कृति, गुण्डा–कार्यकर्ताको संरक्षण, सरकारी साधन स्रोतको दुरुपयोग, भ्रष्टाचारको संरक्षकत्व, परिवारवाद र सत्तामोहलाई मजबुत बनायो। असल विचार बोकेका, जनतासँग सच्चा सम्बन्ध राख्ने, वैचारिक कर्मठ कार्यकर्ताहरूलाई दलभित्र जिम्मेवारीसम्म पुग्नै दिइएन। बरु तस्कर, माफिया र विदेशी दलालको गोटी बन्न पुगे हाम्रा नेता।
यही पुस्ताले मात्र होइन, हाम्रा पुस्ताले पनि फेरि–फेरि आग्रह र चेतावनी दिएका थियौं। तर हाम्रो आवाज दबाइयो, बेवास्ता गरियो।
यस्तो निराशाजनक अवस्थामै नयाँ पुस्ताले ऐतिहासिक विद्रोहको घोषणा गर्यो। यसले तानाशाही, अहंकार, दम्भ र भ्रष्ट नेताको पाखण्डी सत्ता हल्लाइदियो। आन्दोलनलाई सीमित बनाउन सकिँदैन भन्ने यथार्थ पुष्टि भयो। ओली सरकारले यसलाई हिंस्रक बनाउन खोज्यो, केही घुसपैठ पनि भयो, तर शासकको सिंहासन डगमगाइहाल्यो। नेताहरूले आफ्ना कुरुप अनुहार जनताको अगाडि देखाउन नसक्ने गरी लुक्नुपर्ने अवस्था आयो।
यो ऐतिहासिक विद्रोहको जति प्रशंसा गरे पनि कम हुन्छ। नवयुवाको साहस, आँट र देश निर्माण गर्ने संकल्पलाई सलाम छ।
तर अब प्रश्न के हो ?
के हामी दलविहीनताको कल्पना गर्दैछौं ?
के मुलुक पुनः राजतन्त्र वा निरंकुशताको बाटोमा लैजाने हो ?
यदि राजनीतिक दलहरू नै लोप भए भने कस्तो शासन आउँछ ?
पार्टी नभएको अवस्थामा लोकतन्त्र रहन्छ त ?
जनताले निर्वाचित नगरेको शासक कस्तो हुन्छ ?
यी प्रश्नहरू अहिले हरेक सचेत नागरिकका मनमा छन्। त्यसैले बहस अब ‘नेतृत्व उमेर वा पुस्ताले होइन, विचार-कार्यक्रम र जनप्रतिबद्धताले गर्नुपर्छ’ भन्नेमा केन्द्रित हुनुपर्छ।
राजनीतिक दलहरूले अब ढिलाइ नगरी –
भ्रष्टाचारमा दाग नलागेका,
जनताले पत्याएका,
देश विकासको स्पष्ट मोडेल प्रस्तुत गर्न सक्ने,
सामान्य जीवनशैली र जनसैली भएका,
सबै जाति, भाषा, वर्ग, लिङ्ग र धर्मलाई सम्मान गर्ने,
लोकतन्त्र र गणतन्त्रप्रति प्रामाणिक प्रतिबद्धता राख्ने,
सहासी, निडर र सिद्धान्तनिष्ठ व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ।
नेतृत्व पुस्ताले मात्र होइन, देशप्रेम र विचारले तय गर्नुपर्छ।
२०४६ सालपछि मन्त्री, सांसद बनेका, उच्च पदमा नियुक्त भएका सबैको सम्पत्ति शुद्धिकरण हुनु पर्छ। त्यसका लागि स्वतन्त्र नागरिक नेतृत्वमा आयोग गठन गर्नुपर्छ। दोषी प्रमाणित बाहेक, जुनसुकैले नेतृत्व गर्ने बाटो खुला हुनुपर्छ। तर भ्रष्टाचारले कुरुप बनेका अनुहार अहिले बाहिर नआउँदा नै उत्तम हुन्छ भन्ने जनविद्रोहको अभिमतलाई दलहरूले बुझ्नैपर्छ।
भ्रष्टाचार – मुर्दाबाद !
कुशासन – मुर्दाबाद !
दलालतन्त्र – मुर्दाबाद !
तानाशाही – मुर्दाबाद !
न्याय र समानतासहितको समाजवाद – जिन्दाबाद !
नेपाली विशेषताको समाजवाद – जिन्दाबाद !














Comments are closed