ललितपुर । याक्थुङ मुन्चइत चोक सयङको १७औँ स्थापना दिवस विविध सिर्जनात्मक, बौद्धिक तथा सांस्कृतिक कार्यक्रमसहित शनिबार ललितपुरस्थित चुम्लुङहिममा सम्पन्न भएको छ।
स्थापना दिवसका अवसरमा याक्थुङ चलचित्रको संस्थागत विकास, भाषा-संस्कृतिको संरक्षण तथा विश्वभर छरिएका याक्थुङ चलचित्रकर्मीलाई एउटै साझा सञ्जालमा जोड्ने संकल्प व्यक्त गरिएको छ।
स्थापना दिवसलाई संस्थाको विगतको समीक्षा र आगामी यात्राको वैचारिक दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङले बताए।
स्थापना दिवसको पूर्वसन्ध्यामा साउन २७ गते ‘याक्थुङ चलचित्र समालोचना लेखन तालिम’ र साउन २८ गते ‘याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि प्रशिक्षण’ सम्पन्न गरिएको थियो। ती कार्यक्रमले याक्थुङ चलचित्रको सिर्जनात्मक विकाससँगै आलोचनात्मक चेत, भाषिक आत्मनिर्भरता तथा सिरिजङ्गा लिपिप्रतिको साक्षरता विस्तारमा योगदान पुर्याएको आयोजकको भनाइ छ।
याक्थुङ मुन्चइत चोक सयङ नेवा:ताम्सालिङ प्रदेश समितिको आयोजनामा ललितपुरमा तथा लिम्बुवान प्रदेश समितिको आयोजनामा दमक, झापामा समेत १७औँ स्थापना दिवसका कार्यक्रम सम्पन्न भएका छन्। यसले याक्थुङ चलचित्रकर्मीहरूको संगठनात्मक उपस्थिति विभिन्न भूगोलमा विस्तार हुँदै गएको देखाएको अध्यक्ष केरुङले बताए।
हाल याक्थुङ मुन्चइत चोक सयङ संघीय कार्यसमिति, लिम्बुवान प्रदेश समिति, नेवा:ताम्सालिङ प्रदेश समिति, पान्थर जिल्ला समिति, सुखिम समिति, हङकङ समिति तथा अमेरिका समितिलगायतका संरचनामार्फत संगठित हुँदै आएको छ। केही संरचना औपचारिक घोषणाको प्रक्रियामा रहेका छन् भने बेलायतमा संगठनात्मक समन्वयको काम अघि बढिरहेको जनाइएको छ।
याक्थुङ चलचित्रकर्मीलाई एउटै संस्थामा आबद्ध गराउनु मात्र संस्थाको उद्देश्य नभएको अध्यक्ष केरुङको भनाइ छ। उनका अनुसार याक्थुङ भाषा, मुन्धुम, इतिहास, सांस्कृतिक स्मृति, जीवनदर्शन तथा सामुदायिक अस्तित्वलाई चलचित्रका माध्यमबाट अभिलेखीकरण, अभिव्यक्ति र पुस्तान्तरण गर्नु संस्थाको बृहत्तर उद्देश्य हो।
‘चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन, ज्ञान उत्पादन, सांस्कृतिक पुनर्स्मरण, सामुदायिक आत्मपहिचान तथा भाषिक–सांस्कृतिक पुनर्जागरणको सशक्त माध्यम बन्नुपर्छ,’ अध्यक्ष केरुङले भने।
यही उद्देश्यअनुसार संस्थाले ‘याक्थुङ मुन्चइत अक्षयकोष’, ‘याक्थुङ चलचित्र दर्ता कार्यविधि’ र ‘याक्थुङ स्टोरी बैंक’ लगायतका अवधारणा तथा संरचना अघि बढाइरहेको छ। विशेषगरी ‘याक्थुङ स्टोरी बैंक’मार्फत मौखिक परम्परा, मुन्धुम, लोककथा, इतिहास, मिथक, सामाजिक स्मृति तथा समकालीन जीवन-अनुभवलाई भविष्यका चलचित्र सिर्जनाका लागि ज्ञान-सम्पदाका रूपमा सुरक्षित गर्ने लक्ष्य राखिएको छ।
स्थापना दिवसका अवसरमा विश्वका विभिन्न मुलुक तथा भूगोलमा रहेका याक्थुङ चलचित्रकर्मीलाई संगठनमा जोडिन आह्वानसमेत गरिएको छ। भूगोल र सीमाले फरक पारे पनि भाषा, सांस्कृतिक स्मृति, सिर्जनात्मक चेत र सामुदायिक उत्तरदायित्वलाई साझा मञ्चमा जोड्न सकिने भन्दै विश्वव्यापी याक्थुङ चलचित्रकर्मी सञ्जाल निर्माणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
अध्यक्ष केरुङले याक्थुङ मुन्चइत चोक सयङको १७ वर्षे यात्रा कुनै एक व्यक्ति वा नेतृत्वको उपलब्धि नभएको बताए। संस्थापक अग्रज, विभिन्न कालखण्डका नेतृत्व, चलचित्रकर्मी, सर्जक, अभियन्ता, सल्लाहकार, सदस्य तथा शुभेच्छुकहरूको निरन्तर श्रम, समय, विचार र योगदानबाट संस्था वर्तमान अवस्थासम्म आइपुगेको उनको भनाइ छ।
१७ औँ स्थापना दिवसले विगतको योगदानको स्मरणसँगै संस्थागत संरचनालाई थप सुदृढ बनाउने, नयाँ पुस्ताका चलचित्रकर्मीलाई सिर्जनाको अग्रपङ्क्तिमा ल्याउने र याक्थुङ चलचित्रलाई विश्व सिनेमाको मानचित्रमा अर्थपूर्ण पहिचानसहित स्थापित गर्ने नयाँ संकल्प दिएको अध्यक्ष केरुङले बताए।














Comments are closed