Shopping cart

  • Home
  • समाज
  • हरितालिका पर्वको ऐतिहासिक महत्व
देश

हरितालिका पर्वको ऐतिहासिक महत्व

Email :1378
सीता ओझा
हिन्दुधर्म  र संस्कृति भित्रको हरितालिका तीजले प्राग ऐतिहासिक कालदेखि अहिलेसम्म पनि सामाजिक र सांस्कृतिक महत्व राख्ने पर्वको रूपमा चिनिन्छ ।
     हरितालीका तीजसँग नेपाली जनताको  जनजीवन र दिनचर्यासँग जोडिएको भावनात्मक सम्बन्ध र उमङ्गता छ । यसको ऐतिहासिक सांस्कृतिक, सामाजिक, मनोवैज्ञानिक,कृषि,पर्यावरण  र पारिवारिक आयामहरुसँग अनेकौं प्रकारले गहिरिएर जोडिएको भावनात्मक तथा  प्रगाढ सम्बन्ध छ ।
शिव,पार्वती,गणेश,कुमारसँग जोडिएका,सिहं,मुसो,मयुर,बसाहा र पसुपन्छी,सर्प,त्रिशूल,डमरु, जटा,गङ्गा ,नन्दी र भिरुङ्गीको आदिको समन्वय र भातृत्व प्रेमभित्र प्रकृति र पर्यावरण मानिसको लागि नभइ नहुने विषय हुन भन्ने बझाउन खोजेको छ।
   यो पर्व नेपाली समाजमा विवाहित महिलाका निमित्त विशेष सम्बन्ध राख्ने,नयाँ घर परिवारको संरचनाभित्रको प्रवेश,प्रवेशपछिको सम्बन्ध,परिचय, पहिचान,स्थान,मान सहित माइतीसँगको सम्बन्धलाई प्रगाढ बनाउने भावनात्मक पक्षलाई ऐतिहासिक प्रचलनको रूपमा गाँसिनु तीजको विशेषता हो ।
    तीजले एकै रक्त सम्बन्ध र फरक रक्तसम्बन्ध विचको पहिचानलाई अघि बढाउन,सम्बन्धको महत्त्व बुझाउन ,सम्बन्धले पुस्तान्तरणको महत्त्व बुझाउन,सामाजिक सद्भभाव कायम गर्न र मानवीय मूल्य मान्यता को मान राख्न महत्वपूण भूमिका खेलेको देखिन्छ ।
हरितालिका तीजसँग गाँसिएको  प्राचिन सत्य युगका शिव र पार्वतीको विवाहसँग गाँसिएको दुबैको संघर्षपूर्ण जीवन कथाका रुपमा बुझ्ने बुझाउने चलन नै प्रमुख रुपमा देखिएको छ । त्यस बेलाको समाज, समाजको विकाशक्रम भिन्न भिन्न जाती, समूहहरुका आ–आफ्ना रीतिरिवाजहरुको मान्यता मान्ने क्रमको त्यो परम्परागत सांस्कृतिक  रीतलाई आधार मान्दै क्रमिक रूपमा चलन चल्दै गयो ।
   आर्य, किराँत, आष्ट्रिक, द्रविड आदि जस्ता भिन्न भिन्न जाती समूहका मुलका मानिसहरुको आ–आफ्नै रिवाजहरु चलन पनि सांस्कृतिक पक्षसँग जोडिंदै पर्वको रुपमा कायम थिए,हुँदै पनि थिए । ।
   परिवार र राज्य बन्ने कालखण्डमा एक समूहले अर्को समूहको शिकार गर्ने समयमा रीवाज त अर्कोको लागि मान्यहुने कुरै भएन । भावनात्मक सम्बन्धको निकटता नभएको अवस्थामा कसैको लागि पनि विश्वासिलो वातावरण थिएन । एक अर्का जातीको परस्परको युद्ध  बर्षौं चल्दथ्यो ।कसैलाई कसैको अस्तित्व स्वीकार्य हुँदैन थियो । चेतनाको विकाश भएका थोरै व्यक्तिहरुमा पनि मित्रवत वातावरण र सदभावका कुरा गर्ने वातावरण थिएन ।एउटै समुहमा पनि एउटा विचार समूहका व्यक्तिहरु थोरै हुन्थे ।
   त्यो मध्ये पनि जाम्वुदिपको पश्चिम क्षेत्रतिर रहेका आर्य जातीका दक्षप्रजापति आफ्नो जाती समूहलाई निकै सव्य सुसंस्कृत ठान्दथे ।   तर उनकी छोरी सतीदेवी तात्कालिन हिंसा युक्त समाजमा मातृत्व,भातृत्व र सहिष्णुता सहितको मानवता चाहान्थिन् । सतीदेबीले त्यस्तो शक्ति  पूर्वी हिमाली भेगतिरको अनकन्टारमा बस्ने अनार्य ( मंङोल)जातीका शिवसँग देखेकी थिइन् ।
  शिवसँग भएको तन्त्र,मान्त्र,योग,ध्यान,ज्ञान नृत्य,शास्त्राश्त्र आदिले त्यो समाजमा वर्चस्व कायम राखेको देखिन्छ । त्यो दक्षता र मानवताले तात्कालिन समाजमा सन्तुलन कायम गर्दै सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका राख्छ भन्ने विषयले सतीदेवीलाई निकै गम्भीर बनाएको थियोे ।
 यो प्रकृतिको विवाहले मानवजातीलाई एकता डोरीमा बाँध्न सक्ने र यो अभियानलाई महानअभियानका रुपमा लिन सकिन्छ भन्ने लागेको थियो । दक्षप्रजापति यस्तो प्रसङ्ग सोच्नै चाहादैनथे।दक्षप्रजापतीले नचाहाँदा नचाहाँदै विष्णुको सक्रियता र छलको सहयोगले सती र शिवको विवाह भयो ।तर दक्षप्रजापतीले शिवजीलाई आफ्नो ज्वाइँ स्विकारेनन् ।
   आफ्ना पिताले पतिलाई गरेको अपमान सहन नसकेपछि सतीदेवीले यज्ञकुण्डमा होमिएर आत्मदाह गरिन् ।शिवलाई त्यो सैय भएन र महिनौं सतीको जलेको शरीर बोकेर भौंतारिँदै, विलाप गर्दै कैलाश पुगे र ध्यान गरेर बसे ।
 मनुष्य लोकमा पुन हत्या हिंसा र बलात्कार बढ्यो । यस्तो अशान्तिपुर्ण वातावरणले हिमालयकी पुत्री पार्वतीलाई संवेदनशील बनायो । सतीले गरेको प्रयासलाई निरन्तरता दिन  प्रयत्न गरिन् । ( पुनः जन्म लिई पुन शिवसँग पार्वतीको नामले ठूलै तपस्या गरी विवाह गरेको पौराणिक किम्बदन्ती अझै नेपाली समाजमा ताजै झैं छ ।)
 पार्वतीका पिताका लागि पार्वतीको शिवसंगको विवाह मञ्जुर थिएन ।दक्षप्रजापतीको स्वीकृति नहुँदा नहुँदै सतीदेवीको विवाह शिवसँग भएको कारण पार्वतीले संगिनीहरुको साथ लिएकी थिइन् ।पछि तीनै सखीहरुले पार्वतीको हरण गरेर शिवसँग विवाह गराएको कारण नै
(शिवलाई पतीका रुपमा स्वयं वरण गरिन्)  हरितालिका नाम रहेको कुरा तीज पर्वको ऐतिहासिक तथा धार्मिक कथाले पुष्ट्याउँछ ।
  तिनै सतीपछिकी सतीकी सखी पार्वतीलाई आर्यमुलको वैदिक समाजले पुज्यदेवीहरु मध्ये अग्रस्थानमा राखेर ‘प्रथमम् शैलपुत्री च”   भनेर मानेको छ भने किराँत समुदायले पार्वतीलाई सुम्निमा र शिवलाई पारुहाङ्गका रुपमा मान्दै आएको देखिन्छ ।
       यसरी हेर्दा तीजपर्वले अन्तरजातीय विवाह, सामाजिक सदभाव, धार्मिक सहिष्णुता,पर्यावरण र कृषि महत्त्व दर्शाउने प्रतिकको रुपमा र सफल दाम्पत्य जिवनको  प्रेम गाँसिएको पर्वको प्रमुख उदाहरण/ अर्थ राख्ने गर्दछ । यसको उदाहरण : शिव पार्वतीको अर्ध नारेश्वरको रुपलाई सुक्ष्म ढङ्गले अध्ययन गर्न सक्यो भने बुझिन्छ ।
 अर्धनारेश्वर शिव र पार्वतीको समान पहिचान स्थान मान र मर्यादाको प्रतिकका रुपमा स्थापित रुप वा पहिचान भएको अर्को महत्वपूर्ण विषयका रुपमा समाजमा स्थापित गरिएको कार्य हो । यो पक्ष अहिले ह्रास हुँदै गएको होकी जस्तो पनि लाग्छ ।
 यो रुपले भिन्न वंश र मुलुकका मानव समुदायमा साँस्कृतिक, अस्थित्व सहितको विलिनीकरण भई विश्वासिलो र मैत्रीपुर्ण सम्बन्धको विकासका रुपमा तल लेखिएको वाक्यले बुझाउँछ ।
माता च पार्वतीदेवी पिता दवो महेश्वरः
वान्धव वा शिवमआश्रम स्वदेशो भुवनत्रमम् ।।
(आमा पार्वती र बुबा शिवका रुपमा)
यो पर्वले शिवभक्त मानवजातीको एकता र बन्धुत्वका रुपमा तिनै लोकको सम्बोधन गरेको देखिन्छ । तीजको लगतै पश्चिम नेपालका विभिन्न जिल्लामा मनाईने गौरा पर्वको सम्बन्ध पनि हरितालिका तीजसँगै जोडिएको छ । गौरा पर्वमा पार्वतीले आफ्नो स्वेच्छाले शिवलाई वरण गरेको सन्दर्भ जोडिएको छ । यस्ता ऐतिहासिक घटनालाई महिलाले स्वतन्त्र, स्वनिर्णय र पहिचानसँग सम्बन्ध जोड्न र चाडपर्व मनाउने चलन चलाउनु पर्ने पनि देखिन्छ ।धेरै पहिलेका भएर होइन, अहिले पनि यी र यस्ता प्रचलनले त्यत्तिकै महत्व राखेको देखिन्छ ।
हरितालिका तीजको ऐतिहासिकता गाँसिएको मानव र वनस्पतिको सम्बन्ध तथा महत्वको स्थान पनि यहाँ  महत्वपूर्ण छ । तीजपर्वको विशेष महिना भाद्र नै छानिनुमा विशेष सांस्कृतिक र प्राकृतिक पक्षसँगको महत्व जोडिएको छ । खेतीपातीको काम सकेर नदीनाला खड्कीएर, चारैतिर हरियाली छाएको मौसम  कामबाट हल्का फुर्सद भएकोले समय पारेर विवाह गरेर घर पठाएकी ,थकित, कामको चपेटामा परेकी,बुहार्तनले खान नपाएका चेलीलाई माइती बोलाएर खुवाउने, पति,पति भक्ति सिकाउन निराहार व्रत बसाउने र घर फर्काउने प्रचलन नै तीज पर्व बन्यो ।    यो मौसम प्राय सबै प्राणी र वनस्पति जातीको प्रजनन क्षमता बढी भएको रसिलो भरिलो समय हो ।
मानिसको मन मस्तिष्कमा त्यो  मनोवैज्ञानिक पक्षले प्रभाव पारेर मुस्कान भरिएको हुन्छ ।वरिपरिको  रमणीय प्राकृतिक सौन्दर्यसँग मानिसको भावनाले प्रत्यक्ष सम्बन्ध  प्रभाव छोडेको कारण पनि यो समय रोजियो ।
 हिन्दुहरुका अरु पर्वहरु पनि विशेष रुपमा जोडो याममै पर्दछन् । यसको छुट्टै वैज्ञानिक कारण हुन सक्दछन् । तर वर्षा महिनामा बाडी र कामको व्यवस्थापनका कारण रित्तिएको अनाज, तरकारीहरु पानी हट्दै गएपछि विस्तारै पहाडी क्षेत्रमा बढ्दै जाने र खानपिन सजिलो बनाउनाले पनि यो महिना रोजीएको देखिन्छ ।
तीजको सन्दर्भ शिव पार्वतीसँगै कृष्णअष्टमीसँग पनि गाँसिएको छ । विष्णुको पूर्ण अवतारका रुपमा मानिने कृष्णको जन्मदिनलाई भव्यताका साथ मनाउने प्रचलन हामी हिन्दूहरुमा अझै पनि छ । विष्णुले शिवको विवाहमा महत्त्वपूर्ण भुमिका खेलेको कारण कृष्णको जन्मदिनको दिनबाटै चेलिबेटी बोलाई तीज बनाउने प्रचलन पनि नेपाली समाजमा प्रसस्तै पाईन्छ ।
यो सन्दर्भसँग जोडिएर लुम्बिनी अञ्चल अर्घाखाँची खिदिमका महापण्डित दधिराम मरासिनीले आफ्नो श्लोकमा यसो भन्नु हुन्छ–
“ई हुन् शंमुइ विष्णु हुन् इ दुईको नाम् काम् सबै भिन्न हो
यि कम्ती इ बडा भनीकन वृथा भेद्ज्ञान भयाको छ जो,
अज्ञान् हो सब त्यो परन्तु शिव जुनस्वँ विष्णु हुन विष्ण जुन्
सोही शङ्कर हुन् फरक इ दुइको मानुँ नमानी भजुन् ।
सिंगो दक्षिण एसिया बहुजातीय भएकोले विस्तारै भोगाइको आधारमा विभिन्न जातिका फरक फरक देवता हुँदै गए । हुँदाहुँदा देवताहरुको संख्या ३३ कोटि र प्रकार – करोड ! हुन पुग्यो ।  ३३ कोटि देवता कसलाई मान्ने कसलाई नमान्ने भन्ने कुराको पनि विवाद सुरु भयो । यो विवाद घटाउने अभियानको क्रममा ‘गणेश, विष्णु, शिव, सूर्य, काली’ यी पाँच देवता (पाञ्चायन देवता) लाई सबैका साझा देवता बनाउने प्रयत्न चल्यो । पछि त्यो संख्या घटाउँदै लगियो ।विस्तारै  ‘शिव र विष्णु एउटै हुन्’ भन्ने चिन्तन क्रमशः विकसित हुँदै आएको छ । जे होस शिव र पार्वतीको महिमा भित्र मान सम्मान सहित मानवताको सहअस्तित्व,पर्यावरण ,शान्ति र,सुरक्षा सहितको सामाजिक,सांस्कृतिक सद्भाव झल्कन्छ । यसलाई समस्त मानवजातीले बुझ्नु जरुरी छ ।
यी ऐतिहासिक प्रचलन सहित पछिल्लो काल खण्डमा पटक पटक मुसलमान जातीको आक्रमणमा परेका हिन्दुहरुले आफ्ना छोरीहरुको कुमारीत्व जोगाउन एक वर्षभन्दा मुनि नै सिन्धु र पोतेले सजाइ रक्षा गर्ने सुरक्षाको प्रचलनसँग पनि सम्बन्ध राखेको देखिन्छ । सानै उमेरमा विवाह गरेका आफ्ना छोरी वेटी वर्ष याममा कामको कारण खानपिनमा ख्याल नपुगेर कम्जोर भएका हुने, खेतीपातिको काम सकिए पछि जन्मघर गएर मिठो मसिनोमा परिवारै रम्ने र हरितालिका तीजको व्रतले पुन घर, परिवार र पति पत्निको सम्बन्धको न्यानोले सम्बन्धमा गाडापन देखिने कुराले पनि महत्व राखेको छ ।
जेहोस परापूर्वकालदेखि प्रचलनमा आएको हरितालिका तीजको आफ्नै ऐतिहासिक र पारिवारिक  महत्व छ । यसलाई आधुनिकता भित्र फेसन र आडम्बरको रुपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई महिलाहरुले नै त्याग्न सक्नु पर्दछ र  पारिवारिक सम्बन्धभित्र जोड्नसक्नु पर्छ ।यस्ता विकृतिले धार्मिक,सास्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भइ समाजमा कम्जोर नागरिकलाई चाडवाड र सस्कृति मनाउने, सुख दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रुप विकाश हुन सक्छ । यस्ता विषयमा विचार नपु¥याए समाजमा विभिन्न प्रकारका अपराध पूर्ण घटनाले प्रश्रय पाउँछ ।
त्यसै कारण महिलाहरुले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष होस पुर्याउनु उत्तम हुनेछ ।

Comments are closed

Related Post