काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरुबीच कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक दाहालले वामपन्थिहरुको कार्यगत एकता गर्दा पार्टी नै एउटै हुन लाग्यो कि भन्ने भ्रम सिर्जना गरिएको भन्दै कार्यगत एकता हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पारे । उनले सहकार्यलाई विषयगत र कार्यगत एकताको रूपमा व्याख्या गर्दै त्यसलाई पार्टी एकतासँग जोडेर भ्रम फैलाउन नहुने समेत बताए ।
संयोजक दाहालले वामपन्थी एकताको लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताए । उनले तत्कालीन नेकपा एकीकरणको समयमा पर्याप्त राजनीतिक तयारी नहुँदा पार्टी विभाजन भएको स्वीकार गरे । उनले तत्कालीन नेकपा विघटनका लागि सम्पूर्ण दोष नेतामाथि मात्रै थोपर्न नमिल्ने पनि बताए ।
उनले भने,‘अहिले जसरी सुकुम्बासीका विरुद्ध, मजदुरका विरुद्ध, विद्यार्थी, टे«ड युनियन, नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताका विरुद्ध सरकारका गतिविधिहश्र अगाडि बढेका छन् । यस्तो बेलामा देश बचाउने र आन्दोलन बचाउने मुद्दामा हामी सहकार्य गर्न चाहान्छौँ । हामीले अहिले नै पार्टी एकताको कुरा गरेका होइनौँ । सहकार्य हुने बित्तिकै पार्टी एकता हुनै लागेको भन्ने हुँदैन । यो भ्रममा हामी कोही पनि नपरौँ ।
सहकार्य एक खालको कार्यगत एकता हो । त्यो विषयअनुसार हुँदै जाने हुन्छ । पार्टी एकता भनेको विचार, राजनीति, संगठन, सिद्धान्त लगायतका कुराको त्यसमा विचार गरिनुपर्छ । हामीले हिजो वैचारिक एकता गर्दा धेरै राजनीतिक तयारी नगरेको हुनाले बिग्रेको चाँही पक्कै पनि हो । तर त्यो नेताहरुले मात्रै गरेको भन्न मिल्दैन । नेताहरुको काम त नेतृत्व गर्ने हो नि, गर्छन् कहिलेकाँही । कठोर निर्णय लिनु पनि पर्छ । हामीले तत्कालीन नेकपा विघटनमा सबै जिम्मेवार छौँ । नेताहरुलाई मात्रै गाली गरेर पुग्दैन । तर प्रमुख जिम्मेवारी नेताहरुले नै लिनुपर्छ ।’
देश र कम्युनिष्ट आन्दोलनको आन्दोलनको रक्षा गर्ने साझा एजेण्डामा विभिन्न कम्युनिष्ट शक्तिहरु बीच आवश्यकताअनुसार सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।














Comments are closed