काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनमा नयाँ ऊर्जा पैदा गर्दै जनयुद्धलाई निर्णायक रूपमा नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
काठमाडौंमा आयोजित वाग्ले र पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले २०५६ सालमा गोरखामा दुवै नेताले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि ऐतिहासिक र महत्वपूर्ण दिन भएको बताए।
उनका अनुसार पार्टीको पोलिटब्युरो तहको उच्च नेतृत्वबाट भएको उक्त बलिदानले तत्कालीन अवस्थामा जनता र क्रान्तिकारी पंक्तिमा राज्यसत्ताप्रति आक्रोशसँगै आन्दोलनका लागि नयाँ उत्साह र ऊर्जा पैदा गरेको थियो।
प्रचण्डले भने, “सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गरेपछि पैदा भएको आक्रोश र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो।”
प्रचण्डले शहीद सुरेश वाग्लेको राजनीतिक निष्ठा, आदर्श र नेतृत्व क्षमता उच्च रहेको स्मरण गरे। वाग्लेको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई व्यापक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो।
त्यस्तै, उनले जनमुक्ति सेनाका कुशल कमान्डरका रूपमा भीमसेन पोखरेलले पुर्याएको योगदान र देखाएको राजनीतिक आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिमाथि अहिले पनि प्रतिक्रियावादी शक्तिबाट चुनौती र चलखेल भइरहेको दाबी गरे।
उनले शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै प्राप्त उपलब्धिको रक्षा गर्न दृढतापूर्वक अघि बढ्नुपर्ने बताए।
“प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो अवस्थामा शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,” प्रचण्डले भने।
उनले शहीदहरूको योगदानलाई स्मरण गर्नु केवल औपचारिकता नभई उनीहरूले देखाएको आदर्श र राजनीतिक उद्देश्यलाई वर्तमान परिस्थितिमा आत्मसात् गर्नु नै वास्तविक सम्मान हुने धारणा राखे।














Comments are closed