काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन तथा नयाँ आवेदन दिन राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ।
यातायात व्यवस्था विभागले २०८३ साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन आवेदन प्रणालीमा नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार अनलाइन प्रणालीमा नागरिक एप, राष्ट्रिय परिचयपत्र र फोन सेवा प्रणालीलाई एकीकृत गरिएको छ। सेवाग्राहीले नागरिक एपमार्फत समेत आफ्नो विवरण भर्न सक्ने गरी प्रणाली व्यवस्थापन गरिएको उनले बताए।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आफ्नो विवरण अद्यावधिक गर्न वा नयाँ आवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर र आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। यस्तै, विदेशमा रहेका नेपालीले समेत यातायातसम्बन्धी सेवा लिन सक्ने गरी इमेलमार्फत ओटीपी प्राप्त गर्ने सुविधा थप गरिएको विभागले जनाएको छ।
विभागले सातै प्रदेशका लागि छुट्टाछुट्टै वेबसाइट प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीले आफूलाई पायक पर्ने प्रदेशको वेबसाइटमा गएर लाइसेन्ससम्बन्धी आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएको छ।
यातायात व्यवस्था विभागको वेबसाइटमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छुट्टाछुट्टै अनलाइन प्रणालीको लिंक उपलब्ध गराइएको विभागले जनाएको छ।














Comments are closed