न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मंगलबारदेखि न्युयोर्कस्थित मुख्यालयमा सुरु भएको छ। महासभा सेप्टेम्बर २९ सम्म चल्नेछ।
‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारासहित सुरु भएको महासभामा विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, दिगो विकास, मानवअधिकार, डिजिटल शासन तथा राष्ट्रसङ्घको पुनर्संरचनालगायत विषयमा छलफल हुनेछ।
महासभाका अध्यक्ष खालिलुर रहमानले विश्वव्यापी समस्या समाधानका लागि प्रभावकारी संवाद र सहकार्य आवश्यक रहेको बताए। महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्व, गरिबी, जलवायु संकट र आणविक जोखिमजस्ता चुनौती समाधान गर्न बहुपक्षीय सहकार्यमा जोड दिए।
न्युयोर्कस्थित नेपाली स्थायी नियोगले महासभाबाट विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका क्षेत्रमा रचनात्मक परिणाम आउने अपेक्षा व्यक्त गरेको छ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता र वित्तीय सहयोग बढाउन आग्रह गरेका छन्। उनले उत्पादन क्षमता, डिजिटल प्रविधि, जलवायु उत्थानशीलता, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए।














Comments are closed