काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्न सबै क्रान्तिकारी शक्तिलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन्।
काठमाडौँमा शनिबार पार्टीको बुद्धिजीवी भेलामा उनले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्ति गोलबन्द गरेर अघि बढ्ने धारणा राखे।
जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रस्ट सोचका साथ नेकपा अघि बढ्ने उनले बताए। त्यस्तै नेपालले सरकारको काम र क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको धारणा राखे। चुनावबाट निकै ठुलो शक्ति हासिल गरेको दलको सरकार दम र अहंकारबाट प्रेरित भएको उनको भनाइ छ।
उनले ठूलो शक्ति हासिल गरेको सरकारको आलोचना गर्दा अलि बढी असहिष्णु भयो कि भन्ने आरोप लाग्ने भएकाले सरकारको सय दिन पर्खेर बसेको धारणा राखे।
सह-संयोजक नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात् नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने बताए । उनले नेताको बाहिरी स्वरूप वा अनुहारभन्दा उसले अँगालेको विचार र दिने सन्देश नै महत्त्वपूर्ण हुनेमा जोड दिए ।
नेपालले पार्टीभित्र निरन्तर गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । यस्ता नकारात्मक गतिविधि गर्ने व्यक्तिहरूलाई सूक्ष्म रूपमा चिन्न र हेर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
उनले भने, “जुन मानिसमा पार्टीप्रति निष्ठा छैन, समर्पण छैन र विश्वास छैन, त्यस्ता व्यक्तिहरूले पार्टीलाई अगाडि बढाउन सक्दैनन् । म फेरि जोड दिएर भन्न चाहन्छु-यो कुरा तपाईँहरूको दिमागमा राम्रोसँग बसोस् । नेताको अनुहारले मात्र हुँदैन । त्यो नेताले कस्तो विचार अँगालेको छ, कस्तो सन्देश दिइरहेको छ, पार्टीको अनुशासन पालना गर्छ कि गर्दैन, पार्टीको विचारप्रति प्रतिबद्ध छ कि छैन, सङ्गठनलाई अघि बढाउन रचनात्मक भूमिका खेलिरहेको छ कि सधैँ गुटबन्दी, निराशा र झमेलामा मात्र लागिरहेको छ-यी सबै कुरा हेर्नु, बुझ्नु र मूल्याङ्कन गर्नु आवश्यक छ।”














Comments are closed