काठमाडौं। नेपाल राष्ट्रिय इन्धन तथा विद्युतीय यातायात महासंघले भोटेकोसी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र सडक पूर्वाधार पुनःस्थापनालाई तीव्रता दिन सरकारसँग माग गरेको छ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ १० गते केरुङ–रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गरेको हो। महासंघले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र उपचार र प्रभावितलाई प्रभावकारी राहत उपलब्ध गराउन आग्रह गरेको छ।
महासंघका कार्यकारी अध्यक्ष होमप्रसाद अधिकारीले बाढीपहिरोका कारण पृथ्वी राजमार्ग, काठमाडौं–गल्छी–नुवाकोट–केरुङ, काठमाडौं–बनेपा–बर्दिबास, कोदारी राजमार्गलगायतका सडकमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै सडक मर्मत तथा वैकल्पिक मार्ग सञ्चालनलाई तत्काल प्राथमिकता दिनुपर्ने बताए।
उनले यात्रु तथा ढुवानीका साधन सञ्चालनमा सहजता ल्याउन क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न, सम्भव नभएका स्थानमा वैकल्पिक सडक खोल्न र साँघुरा वैकल्पिक मार्गमा आलोपालो प्रणालीमार्फत यातायात सञ्चालनको व्यवस्था गर्न माग गरे।
महासंघले विपद्पछि राहतका नाममा संकलन हुने नगद तथा जिन्सी सहयोगलाई व्यवस्थित गरी प्रधानमन्त्री राहत कोषमार्फत वितरण गर्नुपर्ने, यातायात व्यवसायीका क्षतिग्रस्त सवारीसाधन र कामदारको खोजी तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने माग पनि अघि सारेको छ।
त्यस्तै, बाढीपहिरोबाट प्रभावित यातायात व्यवसायीलाई बैंक ऋण, ब्याज, कर तथा राजस्वमा सहुलियत वा मिनाहा दिनुपर्ने महासंघको माग छ। विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन र स्पेयर पार्ट्सको मूल्य विपद्को अवस्थाको फाइदा उठाउँदै अस्वाभाविक रूपमा वृद्धि हुन नदिन कडा अनुगमन गर्न पनि सरकारलाई आग्रह गरिएको छ।
महासंघले विपद्को समयमा यातायात व्यवसायी, निजी क्षेत्र तथा सम्बन्धित संघसंस्थालाई आर्थिक तथा जिन्सी सहयोग गर्न र सम्भव भएसम्म पीडित यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनसमेत अपिल गरेको छ।
महासंघले हिमाली तथा पहाडी क्षेत्रमा नयाँ सडक निर्माण गर्दा सुरुङ तथा सुरक्षित वैकल्पिक मार्गलाई प्राथमिकता दिनुपर्ने र विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने सुझावसमेत दिएको छ।














Comments are closed