Shopping cart

  • Home
  • राजनिती
  • मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक- अर्थमन्त्री वाग्ले
अर्थ

मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक- अर्थमन्त्री वाग्ले

Email :42

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गरे ।

उनले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिए । विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्रीले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने बताए । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रुपान्तरणको मार्गचित्र भएको दाबी गरे । उनले यस यात्रामा नेपाल राष्ट्र बैंकले आफ्नो भुमिकालाई पुन: परिभाषित गर्नुपर्ने बताए ।

छलफलका क्रममा अर्थमन्त्रीले राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत मागेका छन् । उनले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगमा रुपान्तरण, तथा पुँजी बजार र वास्तविक अर्थतन्त्र बीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो व्यक्त गरे । साथै, डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनुपर्नेमा उनको जोड छ ।

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रुपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा हेर्न चाहेको बताए । सरकारका तर्फबाट कानूनी संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले मौद्रिक पक्षबाट पनि सोही अनुरूपको गति र स्पष्टता आवश्यक रहेको उल्लेख गरे । छलफलमा उठेका विषयहरूलाई कार्ययोजनामा रुपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने बताए ।

Comments are closed

Related Post