काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले नेपाली कला, संस्कृति र मौलिकता झल्काउने पहिरनमा फेशन रन-वेमा क्याटवाक प्रस्तुत गरेका छन् । मंगलबार राति काठमाडौंस्थित होटल सोल्टीमा आयोजित विशेष समारोहमा फाइनलिस्टहरूले विभिन्न डिजाइनरले तयार पारेका आकर्षक तथा मौलिक पहिरनमा आफ्नो प्रस्तुति दिएका हुन् ।
उक्त फेशन शोको मुख्य उद्देश्य नेपालको कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वे प्रस्तुतिका लागि श्वेता आचार्य फेशन हाउस, प्रियान्शी खेतान, युमी चौधरी, आकृति पुनमगर, विनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि थापा, विमल पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली चदार र हेमा जैगडीलगायत डिजाइनरले पहिरन तयार गरेका थिए ।
कार्यक्रममा ‘मिस युनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक संगीता पुरीले प्रतियोगिताको यात्रा सहज नभएको बताउनुभयो । विभिन्न चुनौतीका बाबजुद युवा टोलीको निरन्तर मिहिनेत र प्रतिबद्धताका कारण कार्यक्रमलाई यहाँसम्म ल्याउन सफल भएको उहाँको भनाइ थियो । ‘यो यात्रा सहज थिएन । धेरै चुनौती आए, तर हामी युवा मिलेर निरन्तर मिहिनेत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौं,’ उहाँले भन्नुभयो । आयोजकका अनुसार ‘मिस युनिभर्स नेपाल’ को ग्राण्ड फिनाले सेप्टेम्बर महिनाभित्र आयोजना गर्ने तयारी भइरहेको छ ।













Comments are closed