काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएकाे छ।
प्रचण्डले उक्त घटनाले समग्र मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको उल्लेख गर्दै शान्ति, संयमता र कूटनीतिक पहलमार्फत समाधान खोजिनुपर्नेमा जोड दिनुभयाे।
पूर्वप्रधानमन्त्री प्रचण्डले जारी गर्नुभएकाे सन्देशमा हालको परिस्थितिले विशेषगरी मध्यपूर्व क्षेत्रमा कार्यरत लाखौं नेपाली कामदारको सुरक्षामा प्रत्यक्ष प्रभाव पर्न सक्ने बताउनु भएकाे छ। त्यसैले उनीहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उहाँको भनाइ छ।
प्रचण्डले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशहरूसँग आवश्यक कूटनीतिक पहल गर्न तथा आपतकालीन अवस्था आइपरेमा तत्काल उद्धार र समन्वयका प्रभावकारी संयन्त्र सक्रिय राख्न आग्रह गर्नुभएकाे छ। कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच नआओस् भन्नेमा सरकार गम्भीर र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उहाँको जोड छ।
उहाँले कठिन परिस्थितिमा पनि धैर्य, संयम र मानवताको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै युद्ध र द्वन्द्वको सट्टा वार्ता र सहमतिमार्फत समाधान खोजिनुपर्ने धारणा राख्नुभएकाे छ। साथै, विदेशमा रहेका नेपालीहरूलाई अनावश्यक हल्ला र अफवाहमा नलागी सम्बन्धित निकायको आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गर्नुभएकाे छ।
प्रचण्डको यो सन्देशले राष्ट्रिय हित, नागरिक सुरक्षाप्रति प्रतिबद्धता र अन्तर्राष्ट्रिय शान्तिप्रतिको स्पष्ट धारणा प्रस्तुत गर्नुभएकाे छ।














Comments are closed