भेनेजुएला । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ। कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब चार हजार ३०० जना घाइते भएका छन्। भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशङ्का गरिएकाले उद्धार कार्य तीव्र पारिएको छ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पका कारण उत्तरी भेनेजुएलाका धेरै भवन भत्किएका, चर्किएका तथा ढलेका छन्। बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन्।
स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ भने केहीको अवस्था गम्भीर रहेको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दा भग्नावशेष हटाएर जीवित व्यक्तिको खोजीमा जुटेका छन्। धेरै स्थानमा पर्याप्त उपकरण तथा दक्ष जनशक्तिको अभाव देखिएको छ।












Comments are closed