Shopping cart

  • Home
  • स्वास्थ्य
  • बाढीपीडितको साथमा युवा संघ नेपाल : नुवाकोटमा राहत सामग्री हस्तान्तरण,पुनर्निर्माणमा पनि स्वयंसेवक परिचालन गर्ने
अर्थ

बाढीपीडितको साथमा युवा संघ नेपाल : नुवाकोटमा राहत सामग्री हस्तान्तरण,पुनर्निर्माणमा पनि स्वयंसेवक परिचालन गर्ने

Email :140

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले नुवाकोटमा राहत सामग्री हस्तान्तरण गरेको छ।

युवा संघ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा प्रभावित क्षेत्रमा परिचालित टोलीले विदुर नगरपालिका–७ का वडा अध्यक्ष रवीन्द्र नेपालको समन्वयमा बाढी तथा पहिरो प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो।

विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकता दिँदै लुगा तथा कपडा सेट, ब्ल्याङ्केट, म्याट, बेडसिट, भाँडा सेट, रासन सेट तथा स्टेशनरी सामग्रीलगायतका राहत सामग्री हस्तान्तरण गरिएको युवा संघ नेपालले जनाएको छ।

राहत वितरणका क्रममा वडा अध्यक्ष रवीन्द्र नेपालले प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यकताबारे जानकारी लिनुभएको थियो। उहाँले प्रभावित परिवारसम्म राहत सामग्री पुर्‍याउन आवश्यक समन्वय तथा सहजीकरणसमेत गर्नुभएको थियो।

राहतपछि पुनर्निर्माणमा पनि स्वयंसेवक परिचालन

युवा संघ नेपालले राहत सामग्री वितरणमा मात्रै आफ्नो भूमिका सीमित नराखी विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा समेत युवा स्वयंसेवक परिचालन गर्ने जनाएको छ।

युवा संघ नेपालका कार्यालय सचिव दिपक बि.क.का अनुसार प्रभावित क्षेत्रमा सरसफाइ, भग्नावशेष व्यवस्थापन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक श्रमदानका कार्यमा स्वयंसेवक परिचालन गरिनेछ।

“विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। राहत वितरणपछि पनि आवश्यकताअनुसार पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा स्वयंसेवक परिचालन गरी प्रभावित नागरिकको साथमा रहनेछौँ,” कार्यालय सचिव बि.क.ले भन्नुभयो।

उहाँका अनुसार विपद्पछिको पुनर्स्थापना लामो प्रक्रिया भएकाले तत्कालीन राहतसँगै प्रभावित बस्तीको सरसफाइ, भग्नावशेष हटाउने, क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्ने तथा आवश्यक श्रमदानका काममा युवाको सक्रिय सहभागिता आवश्यक छ।

स्थानीय तहसँग सहकार्यमा जोड

युवा संघ नेपालले विपद्बाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तह, जनप्रतिनिधि, सरकारी निकाय तथा सामाजिक संघसंस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।

विपद्को समयमा राजनीतिक तथा सामाजिक संघसंस्थाको भूमिका राहत वितरणमा मात्र सीमित नरही प्रभावित नागरिकको दीर्घकालीन पुनर्स्थापनासम्म पुग्नुपर्नेमा युवा संघ नेपालको जोड छ।

संघले आगामी दिनमा पनि आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन, राहत सहयोग तथा पुनर्निर्माणका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

विपद्को घडीमा पीडित नागरिकको साथमा उभिने र पुनर्निर्माणमा श्रमदानमार्फत हातेमालो गर्ने अभियानलाई निरन्तरता दिने युवा संघ नेपालको प्रतिबद्धता छ।

Comments are closed

Related Post