काठमाडौँ । रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल पूर्वराजदूत संघले गहिरो दुःख व्यक्त गर्दै तत्काल खोज, उद्धार तथा राहतलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ।
संघका अध्यक्ष चोपलाल भुसाल र महासचिव भीम उदासद्वारा जारी विज्ञप्तिमा बाढीबाट ठूलो मानवीय क्षतिका साथै निजी घर, सार्वजनिक पूर्वाधार तथा भौतिक सम्पत्तिमा व्यापक क्षति पुगेको उल्लेख छ। संघले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
संघले जोखिममा रहेका तथा बाढीका कारण फसेका नागरिकको तत्काल उद्धार, आपत्कालीन आश्रय, खाद्यान्न, खानेपानी, उपचार तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सरकार, सुरक्षा निकाय र स्थानीय तहलाई आग्रह गरेको छ।
विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको आवश्यकता र सुरक्षामा विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ।
विपद्को यस कठिन घडीमा राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई दलीय स्वार्थ र मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता र ऐक्यबद्धताका साथ सामूहिक रूपमा विपत्तिको सामना गर्न संघले आह्वान गरेको छ।
संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा यथाशक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै बाढी प्रभावित नागरिक तथा समुदायसँग ऐक्यबद्धता व्यक्त गरेको छ। प्रभावितलाई सहयोग पुर्याउन खटिएका सबै व्यक्ति तथा संस्थाप्रति संघले धन्यवादसमेत दिएको छ।














Comments are closed