लेखनाथ सिकारू
नेपालको समसामयिक राजनीतिक परिदृश्यमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका फेरि एकपटक विवादको केन्द्रमा उभिएको छ।
जेन-जी आन्दोलनपछि मुलुकमा राजनीतिक, नेतृत्वीय र संवैधानिक परिवर्तनहरूको लहर चलेको छ, तर ती परिवर्तनलाई स्वीकार गर्ने भन्दा पनि प्रतिरोध गर्ने पक्षमा ओली उभिएका छन्। प्रतिनिधिसभा विघटन, आन्दोलनका एजेन्डा, नेतृत्व हस्तान्तरणदेखि चुनावी तयारीसम्म ओली अहिले अधिकार, शक्ति र सत्ताबाट विस्थापनको डरले निरन्तर संघर्षरत देखिन्छन्।
संसद विघटनको दाबी ‘असंवैधानिक’ भन्दै पुनःस्थापनाको जिद्दी:
ओलीले प्रतिनिधिसभा पुनःस्थापनाबाहेक सर्वोच्च अदालतसँग अर्को निर्णयको विकल्प नभएको ठोकुवा गरेका छन्। प्रधानमन्त्रीको एकल सिफारिशमा संसद विघटन असंवैधानिक भएको दाबी गर्दै उनी कानुनी तथा सडक सडक संघर्ष दुवै गर्ने उद्घोष गर्छन्।
उनले भनेका छन्- “हामी कानुनी लडाइँमा पनि जान्छौं, सडकमा पनि उत्रिनेछौं। आन्दोलन शान्तिपूर्ण र संविधानको पक्षमा हुनेछ।” तर आलोचकहरूको दृष्टिमा यो संघर्ष अधिकारकै लागि होइन, सत्ता पुनःप्राप्तिको प्रयास मात्र हो। संसद पुनःस्थापनाको माग राजनीति स्थिरताका लागि कि व्यक्तिगत सत्ता पुनःस्थापनाका लागि रु प्रश्न यहीँ उभिन्छ।
डिप-स्टेट, विदेशी प्रभाव र ‘जेन-जी’ सन्दर्भ:
भदौ २३-२४ को घटनालाई ओलीले योजनाबद्ध ‘डिप स्टेट’को खेल भन्दै सरकार त्यही षड्यन्त्रबाट आएको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा ‘मलाई मेरो देश चाहिन्छ’ भनिएको भिडियोमा प्रस्तुत युवाहरूलाई ओलीले ‘टिब्बतीन ओरिजिनल ग्रुप’को नाम दिएर आक्रोश पेस गरे। तर आलोचकहरूको ठम्याइ छ आन्दोलन विदेशी योजनाबाट नभएर राजनीतिक असन्तोष, युवाहरूको असन्तुष्टि, नेतृत्व परिवर्तनको माग, आदीबाट उत्पन्न थियो।
५ दशकभन्दा लामो राजनैतिक यात्रा र नेतृत्व हुँदाहुँदै युवा पुस्तामा विश्वास निर्माण गर्न असफल हुनु ओलीले स्वीकार्नै नचाहेको वास्तविकता हो।
परिणामत घर जले, सत्ता गयो, राजनीति बदलियो, जेन-जी आन्दोलनपछि ओली प्रत्यक्ष रूपमा राजनीतिक रूपमा नै होइन, शारीरिक रूपमा पनि दबाबमा परे। आन्दोलन उग्र बनेपछि उनी सेनाको हेलिकप्टरमा रेस्क्यु भई चिल्लाङ ब्यारेक सारिए, बालकोट सहित झपा र तेह्रथुमको घर ध्वस्त भयो, १० दिन सेना क्याम्प बसेपछि भाडाको घरमा सर्नु पर्यो। तर यो अवस्थाले ओलीलाई आत्मसमिक्षातिर होइन, प्रतिरोधतिर घचेट्यो।
जेन -जी आन्दोलनपछि तीन प्रमुख परिवर्तन देखिए:
सरकार परिवर्तन, चुनाव घोषणा, दल-दलमा नेतृत्व हस्तान्तरणको बहस ।
कांग्रेसका देउवा, माओवादीमा प्रचण्डले नेतृत्व हस्तान्तरणको संकेत दिए। तर एमालेमा नेतृत्व छोड्न ओलीलाई सुझाव दिइए पनि उनले स्पष्ट अस्वीकार गरे। ओलीको भनाइ -“म सकुन्जेलसम्म पार्टी छाड्दिनँ।” अर्थात, पार्टी परिवर्तनको चुनौती स्वीकार्नेभन्दा, पुरानै संरचनाभित्र रक्षा मोडमै उनी उभिएका छन्।
पार्टीभित्रै प्रश्न- ‘ओलीलाई बोक्न सकिँदैन’:
एमाले नेतृत्व तहमा पहिलोपटक स्पष्ट असन्तोष देखा परेको छ। बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ जस्ता शीर्ष नेता नै नेतृत्व हस्तान्तरणको माग गर्दै उभिए। सचिवालयका १८ मध्ये १० नेतालाई ओली तत्कालै सत्ता हस्तान्तरण गर्नुपर्ने मत रहेको चर्चा छ।
सचिव योगेश भट्टराईले त सिधै भने- “स्टप एन्ड स्टेप डाउन अब तपाईँ रोकिनुस् र पद त्याग्नुस्।” स्वयं एमाले दलभित्र नै असन्तोष मात्र होइन, जेन जी पुस्ताको प्रत्यक्ष विद्रोह पनि देखा परेको छ।
७६ जनाको मृत्यु, खर्बौंको सम्पकित क्षति आगजनी र क्षति, नेतृत्वकै कारण् भएको भन्दै ओली माथि कारबाहीको प्रश्न पनि नउठेको होईन । सरकार, संसद र नेतृत्व कमजोर भएको भनाई छ ।
नेतृत्वविहीन व्यवस्थापन कि ‘हुकुमी शैली’को अन्त्य ?
एमालेभित्र अब प्रमुख बहस यही हो ओलीको नेतृत्वले अब दललाई भविष्यमा जिताउन सक्छ ? युवापुस्ता, शहरिया मतदाता, सूचनामूलक नागरिकलाई विश्वस्त गराउन योग्य छ ? वा अब उनी नेतृत्व परिवर्तनको बाटो रोकेर आन्दोलनपछि पैदा भएको राजनीतिक अवसरलाई बालुवामा गाड्दैछन् ?
ओलीको ‘वनम्यान शो’ शैली:
समितिहरू जहाँसुकै उनीकै आवाज अन्तिम, वैचारिक लचकता भन्दा राजनीतिक वर्चस्व,आलोचनालाई असहिष्णुता
नेतृत्व हस्तान्तरणलाई कटाक्ष यी शैली जेन जी आन्दोलनपछि प्रभावहीन हुँदै गए। जनतादेखि कार्यकर्ता, शीर्ष नेतृत्वसम्मै विश्वास नभएपछि राजनीतिक भविष्य एक्लिँदै जाने स्वाभाविक छ।
सडकमै निर्भरता नयाँ मतदाता आकर्षित कि विमुख ?
अहिले ओलीको राजनीतिक लडाइँ मुख्यतः तीन दिशामा केन्द्रित छ ।
अदालत
सडक
दलभित्रको शक्ति सङ्गठन
तर आजको नेपाली राजनीति अर्थतन्त्र, जनजीविका, वैदेशिक सम्बन्ध, बेरोजगारी जस्ता ठोस एजेन्डामा जनमत बटुलेर जितिन्छ। विघटन स्थापना डिप स्टेट प्रतिगमनको नारा युवापुस्तासँग बढी टिकाउ छैन।आकर्षित छैन ।
के नेतृत्वले भविष्य देखाउन सक्छ ? के दलले नयाँ पुस्तालाई जिम्मेवारी दिन्छ ? के संगठनले जनताको क्रान्तिकारी अपेक्षा सम्बोधन गर्छ ? उनीहरूलाई प्रश्न केन्द्रित छ ।
चुनावी चुनौती अब फर्कन सजिलो छैन:
युवा जागरण, यो एकबारको आन्दोलन होइन, नेतृत्व परिवर्तनको लहर हो। स्थापित दलहरूमाथि अविश्वास
युवा मतदाताले ‘पुराना शैली’का नेताहरूप्रति कडा अस्वीकार व्यक्त गरेका छन्। अन्तरपार्टी लोकतन्त्र
नेतृत्व हस्तान्तरण अब घोषणाले होइन, दबाब र संरचनागत परिवर्तनले हुने छ। जेन-जी आन्दोलनको परिणामस्वरूप नयाँ वास्तविकता बने ।
यही कारण ओलीको ‘अहिले चुनावमा गयो भने दल कमजोर हुन्छ’ भन्ने मनोदशालाई आलोचकहरूले “जेन- जीबाट जस्तै चुनावबाट पनि भाग्दै” भनेर व्याख्या गर्न थालेका छन्।
जेन जी आन्दोलन केवल सडकको आगो थिएन, यो नेपाली राजनीति, दल संरचना र नेतृत्व मनोविज्ञान परिवर्तन गर्ने निर्णायक मोड थियो।
तर ओली आन्दोलनलाई प्रतिगमन, युवालाई फेक, सत्ता परिवर्तनलाई षड्यन्त्र, नेतृत्व परिवर्तनलाई हमला भन्दै प्रतिरोधमा उभिएका छन्। यही ठाँउमा राजनीतिक विश्लेषकहरूको निष्कर्ष स्पष्ट छ
अब नेपाली राजनीति ‘एकल नेताको प्रभाव’मा होइन, ‘बहु नेतृत्वीय प्रतिस्पर्धा’मा प्रवेश गरिसकेको छ।
यस वास्तविकतालाई स्वीकार्न नसक्ने नेताको राजनीतिक भविष्य चाहे जतिसुकै अनुभव, जतिसुकै लोकप्रियता किन नहोस् अन्ततः पतनतर्फ जान्छ। ओली यही मोडमा उभिएका छन्। स्वीकार गर्ने कि प्रतिरोध गर्ने, हस्तान्तरण गर्ने कि भिड्ने ,नयाँ पुस्तासँग सँगै अघि बढ्ने कि इतिहासमा कैद हुने, निर्णय अब उनकै हातमा छ।
मध्यान्ह दैनिकबाट














Comments are closed