Shopping cart

  • Home
  • स्वास्थ्य
  • गृहमन्त्री गुरुङ र स्वास्थ्य मन्त्री मेहताद्वारा कोशी अस्पतालको निरीक्षण
देश

गृहमन्त्री गुरुङ र स्वास्थ्य मन्त्री मेहताद्वारा कोशी अस्पतालको निरीक्षण

Email :60

बिराटनगर । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री नीशा मेहताले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गाको संयुक्त निरीक्षण गरेका छन् । त्यसक्रममा स्वास्थ्यमन्त्री मेहताले एक हप्ताभित्र सार्वजनिक जग्गा खाली गराउने बताएकी छिन् ।

वर्षौँदेखि विभिन्न संघ–संस्थाले अस्पतालको जग्गा कब्जा गरेर व्यावसायिक प्रयोजनमा लगाएपछि आइतबार साँझ स्थलगत निरीक्षणमा पुग्नुभएकी मन्त्री मेहताले त्यस्ता संरचना हटाउन एक हप्ते ‘अल्टिमेटम’ दिएकी हुन् ।

अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने समयसीमा असार २२ गते नै सकिएको थियो । म्याद सकिएको दुई दिनपछि स्वास्थ्यमन्त्री मेहता र गृहमन्त्री सुधन गुरुङसहितको टोलीले आज साँझ अस्पतालको परिसरलाई एक फन्को लगाएका थिए ।

 मन्त्री मेहताले भनिन्, ‘अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद हो । अबको एक हप्ताभित्र यो ठाउँ खाली हुन्छ, हामी यसलाई कार्यान्वयन गरेरै छाड्छौँ ।’

कोशी अस्पतालको नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएका छन् । सामाजिक सेवाको नाममा जग्गा ओगटेका यी संस्थाहरूले ३० भन्दा बढी सटर निर्माण गरी मासिक लाखौँ रुपैयाँ भाडा असुलिरहेका छन् ।

अस्पतालको आन्तरिक अध्ययन अनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब २ लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । त्यस्तै, रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार बुझ्ने गरेको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट उल्लेख्य आम्दानी गरिरहेका छन् ।

स्वामित्व आफ्नो नाममा भए पनि अस्पतालले पूर्वाधार विस्तारका लागि जग्गा अभाव खेपिरहेको छ ।

मन्त्री  मेहताले अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गरेकी छन् । हाल सञ्चालनमा रहेको आँखा उपचार सेवालाई बिस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे अस्पताल प्रशासनसँग छलफल भएको हो।

मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन संरचनाको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिएकी थिईन् ।

अनुगमनपछि उनले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइ थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न निर्देशन दिएकी छन् । त्यसैगरी उनले अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न समेत पुनः निर्देशन दिएकी छन् ।

मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गरिन् ।

Comments are closed

Related Post