Shopping cart

  • Home
  • समाज
  • गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको घुइँचो, आजै गणेश रथयात्रा
देश

गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको घुइँचो, आजै गणेश रथयात्रा

Email :176

काठमाडौँ । विघ्नहर्ता तथा अग्रपूजाका देवता भगवान् श्री गणेशको जन्मोत्सव गणेश चतुर्थी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। पर्वका अवसरमा बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न गणेश मन्दिरमा पूजा-आराधना गर्न भक्तजनको घुइँचो लागेको छ।

भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको धार्मिक मान्यताअनुसार आज अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत मन्दिरमा विशेष पूजा भइरहेको छ।

शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक तथा शुभकार्यमा अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा पूजा गर्ने परम्परा छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पारायणपछि गणेशको पूजा–व्रत गर्ने शास्त्रीय परम्परा रहेको छ।

गणेश पुराणअनुसार भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेका भक्तजनले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने विधान छ।

आजको दिनलाई मङ्गल चतुर्थी पनि भनिन्छ। नेवार समुदायले यसै दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउने गर्छन्। चथा पर्वमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परासमेत रहेको छ।

यसैबीच, राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि गणेश चतुर्थीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईका अनुसार आज विभिन्न गणेश मन्दिरमा पूजा–आराधनासँगै प्रवचनलगायत कार्यक्रम आयोजना गरिँदैछ।

धर्मसभाले गणेश चतुर्थीको अवसरमा प्रत्येक वर्ष गणेश रथयात्रा समेत गर्दै आएको छ। सामान्यतः भाद्र शुक्ल पञ्चमीका दिन रथयात्रा गरिँदै आए पनि यस वर्ष पञ्चमी पनि आजै परेकाले गणेश रथयात्रा पनि आजै आयोजना गरिँदैछ।

गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

Comments are closed

Related Post