काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ युवाको सहभागिता, नेतृत्व, रोजगारी र उद्यमशीलतालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिँदैछन्।
युवा कुनै पनि मुलुकको परिवर्तन र विकासका प्रमुख शक्ति मानिन्छन्। तर नेपालमा युवाको ठूलो हिस्सा रोजगारी, अवसर र भविष्यको सुनिश्चितताका लागि विदेशिनुपर्ने बाध्यता कायमै छ। त्यसैले युवा दिवस औपचारिक कार्यक्रम र नारामा सीमित नराखी रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, सीप विकास र नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने अवसरका रूपमा लिनुपर्ने देखिन्छ।
नेपालको राष्ट्रिय जनगणनाले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ। यो ठूलो जनशक्तिलाई उत्पादनशील क्षेत्रमा जोड्न सके देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुग्न सक्छ। त्यसका लागि सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र युवाबीच प्रभावकारी सहकार्य आवश्यक छ।
युवा लगानी बढाउने, युवामैत्री शासन प्रवर्द्धन गर्ने, सूचना प्रविधिमा युवाको पहुँच विस्तार गर्ने तथा उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने विषय अहिले पनि प्रमुख प्राथमिकतामा छन्। तर यस्ता प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने प्रश्न भने उत्तिकै महत्वपूर्ण छ।
सरकारले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केन्द्रीय कमिटीको निर्णयअनुसार मातहतका संगठनलाई आ-आफ्नो क्षेत्रमा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको जनाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउन १ गते बसेको बैठकबाटै युवा दिवस मनाउने निर्णय गरिएको बताइएको छ।
दिवसका अवसरमा आज भृकुटीमण्डपमा युवा दौड तथा नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना हुँदैछन्।
(ए आई तस्बिर)














Comments are closed