डि.पि आत्रेय
श्रीकृष्ण जन्माष्टमी सनातन हिन्दू धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण एवं पवित्र पर्व हो। यो पर्व भगवान् श्रीकृष्णको जन्मदिनका रूपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ।
धार्मिक परम्पराअनुसार मथुराका राजा कंसको कारागारमा देवकी र वसुदेवका पुत्रका रूपमा श्रीकृष्णको अवतरण भएको किम्बदन्ती छ। कंसको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न तथा धर्मको पुनःस्थापना गर्न भगवान् विष्णुले श्रीकृष्णका रूपमा अवतार लिनुभएको विश्वास गरिन्छ। त्यसैले जन्माष्टमीलाई कुनै महापुरुषको जन्म मात्र नभई धर्म, सत्य र न्यायको पुनःस्थापनाको प्रतीक पनि मानिन्छ
श्रीकृष्णको जन्मकथामा आध्यात्मिक प्रतीकात्मकता अत्यन्त गहिरो र अदभूत छ। मध्यरातमा कारागारभित्र श्रीकृष्णको जन्म हुनु, वसुदेवले उहाँलाई यमुना पार गराएर गोकुल पुर्याउनु र नन्द–यशोदाको संरक्षणमा हुर्कनुका घटनाहरूलाई सनातन परम्पराले विभिन्न आध्यात्मिक अर्थमा व्याख्या गरेको पाइन्छ।
अन्धकारको मध्यमा कृष्णको जन्म हुनु भनेको अज्ञानरूपी अन्धकारमा ज्ञान र चेतनाको उदयको प्रतीकका रूपमा लिने गरिन्छ। कृष्ण स्वयं आनन्द, प्रेम, करुणा, विवेक र दिव्य चेतनाका प्रतीक मानिनुहुन्छ।
श्रीकृष्णको जीवन केवल बाललीला वा चमत्कारमा सीमित छैन। उहाँको जीवनबाट कर्मयोग, ज्ञानयोग, भक्तियोग, कूटनीति, नेतृत्व, मित्रता, प्रेम, करुणा र धर्मसंरक्षणका अनेक आयाम मानवले सिक्नु जरुरी छ। महाभारतको युद्धभूमिमा अर्जुनलाई दिनुभएको भगवद्गीताको उपदेशले मानव जीवनका अत्यन्त गम्भीर प्रश्नहरू—कर्तव्य के हो, कर्म कसरी गर्ने, आसक्ति कसरी त्याग्ने र आत्माको वास्तविक स्वरूप के हो भन्ने बारे मार्गदर्शन गर्छ। “कर्म गर, तर कर्मको फलमा आसक्त नहोऊ” भन्ने गीता-दर्शन आज पनि व्यक्तिगत जीवन, नेतृत्व र सामाजिक कर्तव्यका लागि उत्तिकै प्रासंगिक छ।
नेपाल तथा भारतलगायत विश्वभरका हिन्दू समाजमा जन्माष्टमी विभिन्न धार्मिक एवं सांस्कृतिक विधिबाट मनाइन्छ। भक्तजनहरू व्रत बस्ने, कृष्णमन्दिरमा पूजा–आराधना गर्ने, भजन–कीर्तन गर्ने, गीता पाठ गर्ने, कृष्णका बालरूपको झाँकी निकाल्ने तथा मध्यरातमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गर्छन्।
कतिपय स्थानमा बालबालिकालाई कृष्ण र राधाको स्वरूपमा सजाउने, मट्का फोड्ने तथा धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा पनि छ। नेपालमा विशेषतः पाटनको कृष्ण मन्दिरलगायत विभिन्न कृष्णमन्दिरमा जन्माष्टमी विशेष श्रद्धा र उत्साहका साथ मनाइन्छ।
अन्ततः श्रीकृष्ण जन्माष्टमीलाई केवल एक धार्मिक उत्सवका रूपमा मात्र बुझ्नु यसको व्यापक अर्थलाई सीमित गर्नु हो। श्रीकृष्णको जीवनले अधर्ममाथि धर्मको विजय, निराशामाथि आशा, अज्ञानमाथि ज्ञान र आसक्तिमाथि कर्मयोगको विजयको सन्देश दिन्छ।
जन्माष्टमीले मानिसलाई बाह्य संसारमा कृष्णको जन्मोत्सव मनाउनुभन्दा पनि आफ्नै अन्तःकरणमा रहेको अज्ञान, अहंकार, लोभ र द्वेषको अन्धकार हटाई प्रेम, विवेक, कर्तव्य, सत्य र आत्मचेतनाको ‘कृष्ण’ जन्माउन प्रेरित गर्छ। यस अर्थमा श्रीकृष्ण जन्माष्टमी मानव जीवनलाई धर्ममय, कर्मशील, प्रेमपूर्ण र चेतनायुक्त बनाउने सनातन आध्यात्मिक स्मरण हो भन्न सकिन्छ ।














Comments are closed