Shopping cart

  • Home
  • समाज
  • शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
देश

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

Email :92

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा तथा खेलकुद हेर्ने मन्त्रीसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा संघ र प्रदेश सरकारबीच शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य र समन्वय थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको हो ।

छलफलमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकारी समन्वयलगायत विषयमा छलफल भएको थियो । १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम विधेयक आपसी छलफलबाट टुंग्याउने र प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत तथा पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग मिलेर काम गर्न चाहेको बताउँदै शिक्षा र खेलकुदका क्षेत्रमा दुवै तहका सरकारबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यालय शिक्षा ऐन मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले ऐनमा तीन तहका सरकारको अधिकार क्षेत्र स्पष्ट पारिनुका साथै छुटेका विषय समेटेर विधेयकलाई थप समृद्ध बनाइने बताउनुभयो ।

“विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेका छौँ । पहिलेको विधेयकमा केही कुरा छुटेकाले अहिले देशभर सबै सरोकारवालासँग छलफल गरी राय–सुझावका आधारमा अगाडि बढाइएको छ । दीर्घकालीन रूपमा होस् भनेर विषयवस्तु सम्बोधन गर्दा केही समय लागेको हो,” मन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र प्रभावकारी रूपमा सम्पन्न गर्न तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेल क्षेत्रको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन गरिने उहाँले जानकारी दिनुभयो ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीन तहका सरकार मिलेर सिर्जनशील र दूरदर्शी योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

मधेस प्रदेशका खेलकुद तथा समाजकल्याणमन्त्री लखन दास तत्माले शिक्षा प्रभावकारी नभएसम्म देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा (थापा) र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि संघदेखि प्रदेश र स्थानीय तहसम्म प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले बाढी प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनुका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि तीन तहका सरकारबीच समन्वय बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले पनि बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरताका लागि तीन तहका सरकारबीच सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो ।

Comments are closed

Related Post