Shopping cart

  • Home
  • समाज
  • विश्व राजनीतिमा साम्राज्यवाद र पूँजिवादको संकट : नेपालको सन्दर्भमा ‘जेलेन्स्कीकरण’को खतरा
देश

विश्व राजनीतिमा साम्राज्यवाद र पूँजिवादको संकट : नेपालको सन्दर्भमा ‘जेलेन्स्कीकरण’को खतरा

Email :459

झबिलाल राहु मगर

विश्व राजनीति आज गहिरो संक्रमणकालबाट गुज्रिरहेको छ। लामो समयदेखि विश्वलाई नियन्त्रण गर्दै आएको साम्राज्यवाद र त्यसको आर्थिक आधार पूँजिवाद गम्भीर संकटमा पुगेको स्पष्ट देखिन्छ। आर्थिक मन्दी, युद्ध, असमानता, जलवायु संकट, जनआक्रोश र वैकल्पिक राजनीतिक शक्तिहरूको उदयले पूँजिवादी–साम्राज्यवादी व्यवस्थाको आधार हल्लिएको छ। यही संकटका कारण साम्राज्यवाद प्रत्यक्ष शासनभन्दा पनि अप्रत्यक्ष हस्तक्षेप, प्रायोजित नेतृत्व र ‘दलाल वर्ग’ निर्माणमार्फत आफ्नो प्रभुत्व जोगाउन प्रयत्नरत छ।

आजको विश्व राजनीतिमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की एउटा प्रतीक बनेका छन्। उनी व्यक्तिगत रूपमा मात्र होइन, साम्राज्यवादी शक्तिहरूले प्रयोग गर्ने एउटा मोडेलका रूपमा प्रस्तुत भएका छन्—जहाँ कुनै देशको ऐतिहासिक चेतना, भू–राजनीतिक यथार्थ र जनताको दीर्घकालीन हितलाई बेवास्ता गर्दै, बाह्य शक्तिको इशारामा राष्ट्रलाई युद्धको मैदान बनाइन्छ। यही ‘जेलेन्स्की मोडेल’ आज तेस्रो विश्वका देशहरूमा, विशेषतः नेपालजस्ता राजनीतिक रूपमा संवेदनशील राष्ट्रहरूमा भित्र्याउने प्रयास भइरहेको छ।

नेपालको राजनीतिक इतिहास बलिदान, संघर्ष र वैचारिक स्पष्टताबाट बनेको इतिहास हो। राणा शासन, पञ्चायत, राजतन्त्र र प्रतिक्रियावादी शक्तिहरूविरुद्ध नेपाली जनताले लामो संघर्ष गरेका छन्। यो संघर्ष कुनै व्यक्ति, कुनै पद वा क्षणिक लोकप्रियताका लागि थिएन, यो संघर्ष विचार, दर्शन र प्रणाली परिवर्तनका लागि थियो। तर आज त्यही संघर्षको इतिहास नबुझ्ने, त्यसको मर्म नछुने, तर क्रान्तिकारी शब्दावली प्रयोग गरेर आत्मप्रदर्शन गर्ने व्यक्तिहरू राजनीतिक मैदानमा देखिन थालेका छन्।

साम्राज्यवादले अहिले नेपालभित्र ‘जेलेन्स्की दस्ता’ प्रवृत्तिका पात्रहरू उत्पादन गरिरहेको देखिन्छ। यी पात्रहरूलाइ न त नेपालको वर्गीय संरचना बुझाइएको छ, न त यहाँको सामाजिक–सांस्कृतिक विविधता, न त ऐतिहासिक संघर्षको निरन्तरता। उनीहरूका लागि राजनीति आत्मत्याग होइन, आत्मप्रचार हो; परिवर्तन होइन, उत्तेजना हो; विचार होइन, भावनात्मक उन्माद हो। उनीहरू आफू मार्न र मर्न तयार भएको घोषणा गर्छन्, तर त्यो तयारी विचारशुद्धान्त र जनमुक्तिको निम्ति होइन, अरूको इशारामा प्रयोग हुनका लागि देखिन्छ।

मार्न र मर्न तयार हुनु आफैंमा क्रान्तिकारी गुण होइन। इतिहासले प्रमाणित गरेको छ—क्रान्ति त्यागबाट होइन, सही विचार, संगठन र जनसमर्थनबाट सफल हुन्छ। विचारशुद्धान्तबिनाको बलिदान अन्धकारमा हामफाल्नु हो। परिवर्तनका लागि गरिने बलिदान स्वतन्त्र निर्णय, ऐतिहासिक चेतना र जनताको स्वार्थसँग जोडिएको हुनुपर्छ। तर आज साम्राज्यवादी शक्तिहरूले युवाहरूको असन्तोष, बेरोजगारी, निराशा र आक्रोशलाई प्रयोग गरेर उनीहरूलाई दिशाहीन बनाउने प्रयास गरिरहेका छन्।

नेपालको राजनीतिमा देखिएको यो प्रवृत्ति खतरनाक छ। बाह्य शक्तिको समर्थनमा उदाएका पात्रहरूले आफूलाई ‘राष्ट्रवादी’, ‘परिवर्तनकारी’ वा ‘विद्रोही’ भनेर प्रस्तुत गर्छन्, तर उनीहरूको कार्यदिशा अन्ततः राष्ट्रिय स्वाधीनताको विरुद्ध जान्छ। साम्राज्यवाद सधैं बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ भाषण, सामाजिक सञ्जाल, एनजीओ, अनुदान र नक्कली नायकहरूको माध्यमबाट प्रवेश गर्छ। आजको हस्तक्षेप यही रूपमा भइरहेको छ।
पूँजिवादको संकट गहिरिँदै जाँदा साम्राज्यवाद अझ आक्रामक बन्दै गएको छ। उसले विश्वका कमजोर राष्ट्रहरूलाई आपसमा लडाउने, आन्तरिक द्वन्द्व चर्काउने र राज्यलाई अस्थिर बनाउने नीति अपनाएको छ। नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील देशमा यो खेल अझ जटिल छ। यहाँ विचारहीन साहसलाई ‘क्रान्ति’को नाम दिँदा देशलाई दीर्घकालीन क्षति पुग्न सक्छ।

यस सन्दर्भमा नेपाली प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिहरूले गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ। राजनीतिक चेतनाको स्तर खस्किन दिनु, इतिहासलाई बिर्सनु र क्षणिक लोकप्रियताको पछि लाग्नु साम्राज्यवादलाई सहज मार्ग दिनु हो। युवापुस्तालाई क्रान्तिको नाममा प्रयोग होइन, शिक्षित, सचेत र वैचारिक रूपमा सक्षम बनाउनु आजको मुख्य आवश्यकता हो।

नेपाललाई जेलेन्स्कीकरण होइन, स्वाधीनता, शान्ति र जनमुखी विकासको बाटो चाहिएको छ। हाम्रो संघर्ष युद्धको मैदान बन्नका लागि होइन, जनताको जीवन परिवर्तनका लागि हो। विचारशुद्धान्त बिना गरिने उग्रता परिवर्तन होइन, विनाशतर्फको यात्रा हो। त्यसैले आजको ऐतिहासिक घडीमा आवश्यक कुरा भावनात्मक आवेग होइन, गहिरो राजनीतिक चेतना, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय शक्तिसन्तुलनको सही बुझाइ हो।

 

निष्कर्षमा भन्नुपर्दा, विश्व राजनीतिमा साम्राज्यवाद र पूँजिवादको अन्त्यको संकेत देखिँदै गर्दा त्यसको प्रतिरोध नेपालभित्र पनि भइरहेको छ। तर यो प्रतिरोध सही दिशामा जानुपर्छ। साम्राज्यवादी इशारामा होइन, जनताको आवश्यकतामा आधारित हुनुपर्छ। ‘मार्न र मर्न’ तयार हुनु क्रान्ति होइन, सही कारणका लागि, सही विचारका साथ, सही दिशामा अघि बढ्नु नै साँचो परिवर्तन हो। नेपालको भविष्य यही चेतनामा निर्भर छ।

केन्द्रिय सदस्य नेपाली कम्नियुष्ट पार्टी

Comments are closed

Related Post