Shopping cart

  • Home
  • स्वास्थ्य
  • भक्तपुरमा योगको २० वर्षे यात्रा : शुभकामना साधना केन्द्रमा ३३ प्रशिक्षक दीक्षित
देश

भक्तपुरमा योगको २० वर्षे यात्रा : शुभकामना साधना केन्द्रमा ३३ प्रशिक्षक दीक्षित

Email :80

नबराज काफ्ले
भक्तपुर । भक्तपुरमा योग अभियानले संस्थागत स्वरूप लिएको दुई दशक पूरा भएको छ। यही ऐतिहासिक यात्राको स्मरण गर्दै सूर्यविनायकस्थित शुभकामना सामूहिक योग साधना केन्द्रले आफ्नो २०औँ स्थापना दिवस तथा वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ।
पातञ्जल योग समिति नेपालअन्तर्गत आयोजित कार्यक्रममा भक्तपुरमा दुई दशकअघि सुरु भएको योग अभियानको विगत, वर्तमान र आगामी यात्रामाथि चर्चा गरियो। कार्यक्रममा योगलाई व्यक्तिगत स्वास्थ्य र साधनाको विषयमा मात्र सीमित नराखी स्वस्थ, अनुशासित र संस्कारित समाज निर्माणको आधार बनाउनुपर्नेमा वक्ताहरूले जोड दिए।
स्थापना दिवसको मुख्य आकर्षणका रूपमा प्रारम्भिक योग प्रशिक्षक तालिम उत्तीर्ण गरेका ३३ जनालाई प्रमाणपत्र वितरण गरी दीक्षित गरिएको छ। नयाँ प्रशिक्षकको प्रवेशसँगै भक्तपुरमा योग प्रशिक्षणको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग अध्यक्ष एवं राष्ट्रिय संगीतकार बद्रीनारायण ताम्रकारको नेतृत्वमा कलाकार टोलीले विशेष सांगीतिक सत्सङ्ग प्रस्तुत गरेको थियो। योग, संगीत र आध्यात्मिक चेतनाको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पातञ्जल योग समिति नेपालका प्रमुख संरक्षक डा. चन्द्रमणि खनालले भक्तपुरमा योगको संस्थागत विकासका लागि प्रारम्भिक चरणका अभियन्ताहरूले गरेको योगदान महत्वपूर्ण रहेको बताए। उनले योगलाई नियमित अभ्यास, स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग जोड्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।
संरक्षक बालमुकुन्द सुवाल र संरक्षक सदस्य शंकर मानन्धरले पनि योग अभियानको निरन्तरता र संस्थागत विकासका विषयमा धारणा राखे।
कार्यक्रमको अध्यक्षता पातञ्जल योग समिति नेपाल भक्तपुर नगर समितिका अध्यक्ष मदन लोहलाले गरेका थिए। आयोजकका तर्फबाट चित्रा किसीले स्वागत मन्तव्य राखिन्। साधना केन्द्रको वार्षिक प्रगति प्रतिवेदन लक्ष्मीनारायण श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रञ्जना लोइलाले प्रस्तुत गरे। दुवै प्रतिवेदन साधारणसभाबाट सर्वसम्मत रूपमा अनुमोदन भए।
पातञ्जल योग समिति नेपालका संस्थापक एवं वर्तमान अध्यक्ष सुदर्शन सुवेदी र महासचिव नबराज काफ्लेले संस्थाको विगतको अनुभवबाट सिक्दै आगामी दिनमा योग अभियानलाई अझ व्यापक बनाउने आवश्यकता औँल्याए। केन्द्रीय उपाध्यक्ष योगप्रसाद आचार्य, केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला शाखा अध्यक्ष रिता पाख्रिन तथा साधना केन्द्रकी संस्थापक सदस्य एवं केन्द्रीय सदस्य मेनुका प्रधानले पनि शुभकामना मन्तव्य राखे।
कार्यक्रममा केन्द्रीय सदस्य बुद्धलक्ष्मी किसीले सञ्चालन गरेकी थिइन्। पातञ्जल योग समिति नेपालका सचिव बालकृष्ण प्रधान, केन्द्रीय सदस्यहरू हेमा प्रजापति र उमेशमान मधिकर्मी, केन्द्रीय महिला विभाग कोषाध्यक्ष इन्दु लम्साल काफ्ले, वागमती प्रदेश सदस्य मनिषा भुजुलगायत जिल्ला, नगर तथा विभिन्न साधना केन्द्रका पदाधिकारी, सदस्य एवं योग साधक–साधिकाको उल्लेख्य सहभागिता थियो।
पार्टी प्यालेसबाट सुरु भएको यात्रा
भक्तपुरमा योगलाई संगठित रूपमा अघि बढाउने अभियान आजभन्दा २० वर्षअघि सामान्य प्रयासका रूपमा सुरु भएको थियो। शुभकामना पार्टी प्यालेसमा आयोजित प्रारम्भिक योग अभ्यासबाट सुरु भएको त्यो अभियान अहिले संस्थागत यात्रामा आइपुगेको हो।
शुभकामना सामूहिक योग साधना केन्द्र र शुभकामना बचत तथा ऋण सहकारी संस्थासँग आबद्ध बालमुकुन्द सुवाल, मेनुका प्रधान, न्हुच्छेकुमार त्वायना, नित्यनाथ श्रेष्ठ, राजेशबहादुर श्रेष्ठ र संगिता कसजुलगायतको पहलमा त्यतिबेला योगको बीजारोपण गरिएको थियो।
दुई दशकअघि रोपिएको त्यो सानो बीउ अहिले प्रशिक्षक उत्पादन, नियमित साधना र संस्थागत संरचनामार्फत फैलिँदै गएको छ। भक्तपुरमा मात्रै नभई देशका विभिन्न स्थानमा योग अभियान विस्तार हुनुमा प्रारम्भिक अभियन्ता, प्रशिक्षक, साधक तथा संस्थागत नेतृत्वको योगदान महत्वपूर्ण रहेको कार्यक्रममा स्मरण गरियो।
२० वर्षअघि रोपिएको योगको बीउ आज ३३ नयाँ प्रशिक्षकसहित नयाँ पुस्ताको हातमा पुगेको छ। यही पुस्ताले योगलाई स्वास्थ्य, अनुशासन, आत्मचेतना र सामाजिक रूपान्तरणको अभियानका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post