काठमाडौं । विपद्मा परी ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवलाई जमिनमुनि गाड्ने तयारीप्रति नेकपाका केन्द्रीय सदस्य तथा बाँके संयाेजक दीपक जीएमले गम्भीर प्रश्न उठाएका छन्।
उनले शवलाई सुरक्षित राख्ने वैकल्पिक व्यवस्था हुँदाहुँदै हतारमा जमिनमुनि गाड्ने निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्।
जीएमले सामाजिक सञ्जालमार्फत सरकारलाई सम्बोधन गर्दै भनेका छन्, “कि जानेर पनि गरेनौँ भन, कि भनेको मान।” उनले पहिचान नखुलेका शवको संरक्षणमा राज्यले थप संवेदनशीलता अपनाउनुपर्ने बताएका छन्।
उनका अनुसार शवलाई कुहिन नदिन सामान्यतया २ देखि ४ डिग्री सेल्सियस तापक्रममा सुरक्षित राख्न सकिन्छ। त्यसका लागि तत्काल शवगृह निर्माण गर्नुपर्ने अवस्था नरहेको भन्दै उनले नेपालमा सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका सयौँ शीत भण्डार रहेको उल्लेख गरेका छन्।
जीएमले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै अस्थायी रूपमा शव सुरक्षित राख्न सकिने सम्भावित शीत भण्डारहरूको सूचीसमेत सार्वजनिक गरेका छन्।
शव सुरक्षित राख्न सकिने सम्भावित शीत भण्डार
१. विदुर–५, नुवाकोट – ५ हजार टन क्षमता
२. बेलकोटगढी–१०, नुवाकोट – ५ हजार टन क्षमता
३. बेनिघाट रोराङ–७, धादिङ – १ हजार ५ सय टन क्षमता
४. खैरहनी–६, चितवन – १ हजार ५ सय टन क्षमता
५. पुतलीबजार–११, स्याङ्जा – २ हजार ५ सय टन क्षमता
यी शीत भण्डारहरू मूलतः कृषि उत्पादन भण्डारणका लागि निर्माण गरिएका भए पनि विपद्को असाधारण अवस्थामा उपलब्ध स्रोतसाधनलाई मानवीय आवश्यकताअनुसार परिचालन गर्न सकिने उनको तर्क छ।
“हामीलाई थाहा छ, यी भण्डारण कृषि प्रयोजनका लागि हुन्। तर विपद्मा स्रोत–साधन हुँदाहुँदै प्रयोग नगर्नु समाधान होइन,” जीएमले भनेका छन्। राज्यले इच्छाशक्ति देखाए उपलब्ध संरचनालाई तत्काल मानवीय प्रयोजनमा परिचालन गरेर मृतकका परिवारको पीडा र आँसुमा केही हदसम्म मलम लगाउन सकिने उनको भनाइ छ।
पहिचान नखुलेका शवलाई सुरक्षित राख्दा आफन्तले पछि पहिचान गर्न पाउने सम्भावना कायम रहने भएकाले शव व्यवस्थापनमा वैज्ञानिक र मानवीय दृष्टिकोण अपनाउनुपर्ने उनले बताएका छन्।
जीएमले सरकारलाई तत्काल उपलब्ध शीत भण्डारहरूको पहिचान गरी आवश्यक समन्वय र व्यवस्थापन गर्न आग्रह गर्दै भनेका छन्, “यो कार्यमा लाग सरकार।”
उनले विपद्को पीडामा राज्य गम्भीर बन्नुपर्ने भन्दै भावनात्मक अपिलसमेत गरेका छन्। “हातमा कलम हुनेहरू, कलम लिएर उठ; केही नहुनेहरू, आवाज लिएर उठ,” भन्दै उनले राज्यलाई जवाफदेही बनाउन सबै तहबाट आवाज उठाउन आह्वान गरेका छन्।
विपद्मा ज्यान गुमाएका व्यक्तिको शव केवल ‘व्यवस्थापन गर्ने वस्तु’ नभई परिवारको अन्तिम आशा, पहिचान र भावनासँग जोडिएको विषय भएकाले शव संरक्षणमा मानवीय संवेदनशीलता र वैज्ञानिक विधि अपनाउनुपर्ने उनको जोड छ।
“गरिबको चमेली…” जस्ता पीडाका गीत गाउन नपरोस्,” भन्दै जीएमले सरकारलाई विपद् व्यवस्थापनमा उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग गर्न आग्रह गरेका छन्।














Comments are closed