Shopping cart

  • Home
  • समाज
  • नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा
अन्तर्राष्ट्रिय

नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

Email :151

लेखनाथ सिकारू

काठमाण्डाकैं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ कार्यसमितिका लागि कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलन गरेर गुरुङ समूहले उम्मेदवारी घोषणा सँगै नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको र यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए।

संघको वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा चर्चित आरोही मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा डिकी शेर्पा र कोषाध्यक्षमा कलाकार सुमी लामाले उम्मेदवारी दिएका छन् ।

 

यस्तै, सदस्यहरुमा विश्व साइकल यात्री पुष्कश शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक तामाङले उम्मेदवारी दिएका छन् ।

 

हिमाल र हिमालसंँग जोडिएका हरेक चुनौति, अवसर र मुद्दालाई नजिकबाट नियालेको र बुझेका गुरुङले संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका धादिङ रुविभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् ।

 

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार गुरुङले यस क्षेत्रमा सङ्गालेको अनुभव, काम गर्ने योग्यता र क्षमता प्रदर्शन गर्नको लागि नेतृत्वमा आउन चाहेको उम्मेदवार गुरुङको दावी गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ ध्यानाकर्षण गराउने उल्लेख गरे ।

उनले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने बताए ।

 

यस्तै, वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । हेलि रेस्क्यू पारदर्शिता नियमन तथा दुरुपयोग नियन्त्रण गर्ने, सगरमाथा लगायत आठ हजार मिटरभन्दा माथीका हिमालका लागि आचारसहिंता लागु गर्ने, एनएमएमा तालिम एकेडेमी तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, सबै सेवामा डिजीटल प्रणाली लागु गर्दै ‘एकद्वार सेवा’ प्रणाली स्थापना गर्ने लगायत दुरदर्शी तथा प्रभावकारी योजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।


पर्वतीय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमै व्यापक प्रचारप्रसार लगायतमा योगदान गर्न र पर्वतीय पर्यटन क्षेत्रमा गनुपर्ने धेरै कामहरु आफूले देखेको र ती कामहरु पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको गुरुङको अठोट छ ।

 

‘३३ वर्षको पर्यटन क्षेत्रको अनुभव, यहि विषय पढेको, यहि विषय पढाउने र यही विषयमा ६ वर्ष लामो अनुसन्धान गरी विद्यावारिधी गर्दै गर्दा म सक्षम भइन भनेर मेरो क्षमतामा प्रश्न गरिराख्ने हो भने तपाईहरुले नै भनिदिनुहोस कस्ता खालको उम्मेद्वार अध्यक्ष बन्ने होला’ गुरुङले भने ।

गुरुङ समूहले नेपालका हिमाललाई जीवन, संस्कृति, अर्थतन्त्रको मेरुदण्ड र राष्ट्रिय गौरवको स्रोतका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित सातवटा मुख्य नीतिगत बुँदा सार्वजनिक गरेको हो ।

 

गुरुङले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पूर्वउपाध्यक्ष, इन्टरनेसनल क्लाइम्बिङ एण्ड माउन्टेनरिङ फिडिरेसनमा व्यवस्थापन समितिका पूर्वसदस्य, गुरुङ टुरिज्म इन्टरप्रेनर्स एसोसिएसन नेपाल (जिटिन) मा संस्थापक अध्यक्ष, गणेश हिमाल टुरिज्म डेभलपमेन्ट काउन्सिलमा संस्थापक अध्यक्ष, क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजमा सचिवलगायत विभिन्न क्लब तथा संघसंस्थाहरुमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन् ।

 

उक्त समूहलाई विजयको शुभकामना दिँदै नेकपा एमालेका स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले जलवायु परिवर्तनका कारण हिमाल जोगाउन कठिन भइरहेको अवस्थामा अहिलेको मुख्य मुद्दा हिमालको संरक्षण भएको बताए ।

 

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने नेतृत्व पर्वतारोहण सङ्घमा आवश्यक रहेकाले उक्त कार्य गुरुङ समूहको नेतृत्वबाट सम्भव हुने बताए ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वमन्त्री रचना खड्का, कांग्रेसका नेता एवम् ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेश धमला, नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष सन्तविर लामालगायतले मुलुकको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र भएकाले यसलाई जोगाउन जरुरी रहेको बताएका थिए ।

 

आगामी भदौ ७ गते हुन लागेको संघको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङलाई अध्यक्ष पदका लागि सर्वसम्मत अघि सारिएको छ ।

गुरुङको उम्मेद्वारीलाई साझा बनाउन अन्य राजनीतिक दल निकट पर्यटन व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुकोसमेत कसरत भइरहेको जनाइएको छ ।

Comments are closed

Related Post