Shopping cart

  • Home
  • समाज
  • नेपाल–चीन सम्बन्धलाई रणनीतिक उचाइबाट जनस्तरसम्म विस्तार गरौँ : झलनाथ खनाल
अन्तर्राष्ट्रिय

नेपाल–चीन सम्बन्धलाई रणनीतिक उचाइबाट जनस्तरसम्म विस्तार गरौँ : झलनाथ खनाल

Email :32

व्यापार, कनेक्टिभिटी र जलवायु उत्थानशीलतादेखि युवा पुस्ताबीचको सहकार्यसम्म बढाउनुपर्नेमा जोड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपाल-चीन सम्बन्धलाई बदलिँदो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिअनुसार थप सुदृढ र बहुआयामिक बनाउनुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित दुई दिने ‘काष्ठमण्डप डाइलग’को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै खनालले नेपाल र चीनबीचको सम्बन्ध कार्यनीतिक तहमा मात्र सीमित नभई दीर्घकालीन महत्वको रणनीतिक सम्बन्धका रूपमा विकसित भइसकेकाले त्यसलाई व्यवहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ले आयोजना गरेको संवादमा खनालले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले पर्याप्त लाभ लिन सक्नुपर्ने बताए।

उनले चीनको विकास अनुभवबाट नेपालले महत्वपूर्ण पाठ सिक्न सक्ने उल्लेख गर्दै विकासको क्रममा नेपालको आफ्नै इतिहास, संस्कृति, आवश्यकता र मौलिकतालाई केन्द्रमा राख्नुपर्ने धारणा राखे।

नेपालले छिमेकी चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्न सक्ने पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो। त्यसका लागि व्यापार विस्तार, पूर्वाधार तथा कनेक्टिभिटी, प्रविधि, पर्यटन र अन्य व्यावहारिक क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

खनालले नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण पक्षका रूपमा जलवायु परिवर्तन र सीमापार विपद् जोखिम न्यूनीकरणलाई अघि सारे। पछिल्लो समय हिमाली क्षेत्रमा बढिरहेका जलवायुजन्य जोखिम र भोटेकोशी नदीमा आएको बाढीजस्ता घटनाले सीमापार सहकार्यको आवश्यकता अझ स्पष्ट पारेको उनको भनाइ थियो।

विपद्को पूर्वसूचना, जोखिम न्यूनीकरण, उद्धार तथा आवश्यक सूचनाको आदानप्रदानमा नेपाल र चीनबीच थप प्रभावकारी सहकार्य हुनुपर्ने उनले बताए।

खनालले दुई देशबीचको सम्बन्धलाई सरकार र राजनीतिक नेतृत्वको तहमा मात्र सीमित नराखी जनता–जनता तथा नयाँ पुस्ताबीचको सम्बन्ध विस्तार गर्नुपर्नेमा पनि जोड दिए। शिक्षा, संस्कृति, भाषा, पर्यटन तथा युवाबीचको आदानप्रदानले आगामी पुस्ताबीच आपसी समझदारी र मित्रता बलियो बनाउन सक्ने उनको धारणा थियो।

दुई दिनसम्म चलेको ‘काष्ठमण्डप डाइलग’मा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संवादमा बदलिँदो अन्तर्राष्ट्रिय तथा क्षेत्रीय वातावरणमा नेपाल-चीन सम्बन्ध, पार्टी निर्माण तथा सुशासनका अनुभव आदानप्रदान, भूराजनीति, व्यापार तथा कनेक्टिभिटी, जलवायु उत्थानशीलता, सीमापार जोखिम न्यूनीकरण, सांस्कृतिक तथा जनस्तरको सहकार्य र युवाको भूमिकालगायतका विषयमा विचार आदानप्रदान गरिएको थियो।

संवादले नेपाल–चीन सम्बन्धलाई परम्परागत कूटनीतिक दायराभन्दा माथि उठाएर आर्थिक विकास, जलवायु उत्थानशीलता, सांस्कृतिक सम्बन्ध र नयाँ पुस्ताको सहकार्यसँग जोड्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

 

Comments are closed

Related Post