Shopping cart

  • Home
  • स्वास्थ्य
  • घर पाएपछि इन्द्रमायाको मुहारमा खुसी, नेकपाको आवास अभियानले दियो सुरक्षित छानो
अर्थ

घर पाएपछि इन्द्रमायाको मुहारमा खुसी, नेकपाको आवास अभियानले दियो सुरक्षित छानो

Email :1208

झापा । वर्षौंदेखि असुरक्षित बसोबास गर्दै आएकी भद्रपुर–२ महारानी चोककी इन्द्रमाया खातीका लागि सोमबार खुसीको दिन बन्यो। विपन्न तथा एकल महिला खातीले एक कार्यक्रम विच ३ कोठे घरको चाबी पाएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले सञ्चालन गरेको विपन्न नागरिक आवास अभियानअन्तर्गत निर्माण गरिएको घर खातीलाई हस्तान्तरण गरिएको हो। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ले घरको चाबी खातीलाई हस्तान्तरण गरे।

चाबी हातमा लिएसँगै इन्द्रमायाको मुहारमा देखिएको खुसीले उनको लामो समयदेखिको असुरक्षित बसाइँको पीडा केही हदसम्म बिर्साएको थियो।

‘सुरक्षित आवास नागरिकको मौलिक अधिकार हो’

घर हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङ्बोले सुरक्षित आवास नागरिकको मौलिक अधिकार भएकाले विपन्न नागरिकलाई आवास उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए।

उनले कम्युनिस्ट सरकारका पालामा विपन्न तथा सुरक्षित आवासका कार्यक्रम अघि बढाइए पनि राजनीतिक अस्थिरताका कारण अपेक्षित गति लिन नसकेको बताए।

पार्टीस्तरबाट झापामा सुरु गरिएको आवास निर्माण अभियानले विपन्न नागरिकको आवास अधिकारप्रति राज्यको ध्यानाकर्षण गराउने काम गरेको उनको भनाइ थियो।

“नागरिकका आधारभूत आवश्यकता र अधिकार राज्यले सुनिश्चित गर्नुपर्छ,” आङ्बोले भने, “यस्ता अभियानले राज्यलाई आफ्नो दायित्वप्रति थप जिम्मेवार बन्न दबाब सिर्जना गर्नुका साथै मुलुकलाई समाजवादउन्मुख बनाउने आधार तयार गर्छ।”

कार्यक्रमका विशेष अतिथि नेकपा नेता अशेष घिमिरेले एउटा घर निर्माण गर्नु केवल भौतिक संरचना निर्माण गर्नु नभई सामाजिक रूपान्तरणको अभियानलाई व्यवहारमा उतार्ने प्रयास भएको बताए।

मानिसले बाँच्न पाउने अधिकारसँगै सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने सवालमा पार्टी अग्रपंक्तिमा रहेको सन्देश अभियानले दिएको उनको भनाइ थियो।

३ लाख ८१ हजारमा बन्यो इन्द्रमायाको घर

इन्द्रमायाका लागि भान्सासहित तीनकोठे घर निर्माण गरिएको हो। विभिन्न दाताबाट प्राप्त रकम तथा सामग्रीबाट निर्माण गरिएको घरमा कुल ३ लाख ८१ हजार रुपैयाँ खर्च भएको नेकपाका केन्द्रीय सदस्य तथा घर निर्माण संयोजक बासु दुलालले जानकारी दिए।

दुलालका अनुसार झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको छ। अभियानअन्तर्गत दोस्रो घर निर्माणका लागि लाभग्राही छनोटसमेत भइसकेको उनले बताए।

घर निर्माण अभियानलाई जिल्ला कमिटीको निर्णयमार्फत थप व्यवस्थित र निरन्तर बनाउँदै लैजाने दुलालले बताए।

पार्टीबाहिरबाट सहयोग संकलन नगर्ने नीतिअनुसार पार्टी सदस्यबाटै रकम तथा आवश्यक सामग्री जुटाएर अभियान सञ्चालन गरिने उनले जानकारी दिए।

घर बनाउन कसले कति सहयोग गरे ?

इन्द्रमायाको घर निर्माणका लागि बासु दुलाल र तारा दुलालले २ लाख २५ हजार रुपैयाँ सहयोग गरेका थिए।

ईश्वरी दाहालले १५ हजार रुपैयाँ बराबरको इँटा उपलब्ध गराएकी थिइन्। पदम लिम्बूले २० हजार, हेमन्त बास्कोटा, तारा दुलाल र गायत्री बास्कोटाले ३० हजार रुपैयाँ सहयोग गरेका थिए।

त्यस्तै डा. मुरलीप्रसाद साहले ७ हजार, श्रीप्रसाद मिश्रले २ हजार, सानुकुमार लामाले २ हजार, चन्द्रा श्रेष्ठले ५ हजार, बीपी भट्टराईले ५ हजार, जोया सुब्बाले १० हजार, राम पोखरेलले ५ हजार, परशुराम शंकरले १ हजार १ सय र कृष्ण कौशलले ३ हजार रुपैयाँ सहयोग गरेका थिए। नाजिर हुसेनले ६० वटा टिसर्टलगायत जिन्सी सामग्री सहयोग गरेका थिए। घर निर्माणमा सहयोग पुर्‍याउने सबै दातालाई कार्यक्रममै सम्मानसमेत गरिएको थियो।

‘आवास निर्माण सरकारको दायित्व हो, हामीले सन्देश मात्रै दिएका हौँ’

घर हस्तान्तरणपछि निर्माण संयोजक दुलालले सामाजिक सञ्जालमार्फत अभियानमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

विपन्न परिवारका लागि आवास निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले समुदायमा आधारित समाजवाद निर्माणका लागि अन्तिम साससम्म प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन्।

आधारभूत आवश्यकताबाट वञ्चित नागरिकका लागि आवास निर्माण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै दुलालले आफूहरूले सरकारलाई त्यसतर्फ ध्यानाकर्षण गराउन मात्रै अभियान सञ्चालन गरेको बताएका छन्।

“आवास निर्माण सरकारको दायित्व हो, हामीले त खाली सन्देश मात्रै सरकारलाई दिएका हौँ,” उनले भनेका छन्।

अभियानमा निःस्वार्थ रूपमा जोडिएर निरन्तर खटिएका पदम सुब्बा र जिल्ला सहसंयोजक बीपी भट्टराईप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

कार्यक्रम घर निर्माण संयोजक दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो। नेकपा नेता पदम लिम्बूले स्वागत गरेको कार्यक्रम जिल्ला सहसंयोजक बीपी भट्टराईले सञ्चालन गरेका थिए।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ, डिल्लीराम घिमिरे ‘हिक्मत’, जिल्ला संयोजक खड्क तिम्सिना ‘पवन’ लगायत नेता-कार्यकर्ताको उपस्थिति थियो।

इन्द्रमायाले पाएको घर उनका लागि केवल बस्ने ठाउँ मात्र होइन, वर्षौंदेखिको असुरक्षित बसाइँबाट सुरक्षित जीवनतर्फको नयाँ सुरुवात बनेको छ। घरको चाबी हस्तान्तरणसँगै एउटा परिवारले सुरक्षित छानो पाएको छ भने अभियानले विपन्न नागरिकको आवास अधिकार राज्यको प्राथमिकतामा पर्नुपर्ने सन्देश पनि दिएको छ।

Comments are closed

Related Post