काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिस्ट आन्दोलनको पुरानो स्वरूपले आफ्नो ऐतिहासिक भूमिका पूरा गरिसकेको भन्दै अब नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ समाजवादी परियोजनासहित अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले संसदीय अभ्यासमा सहभागी कम्युनिस्ट शक्तिहरू पटक पटक सरकारको नेतृत्वमा पुगे, दुईतिहाइ नजिकको जनमतसमेत प्राप्त गरे, तर राज्यको चरित्र परिवर्तन गर्न भने पूर्णतः असफल भएको टिप्पणी गरे। उनले निर्वाचनपछिको अवसरवाद, वैचारिक विचलन र पार्टीभित्रको वैचारिक प्रशिक्षण (स्कुलिङ) कमजोर बन्दै जाँदा समग्र कम्युनिस्ट आन्दोलन नै संकटमा पुगेको बताए।
उनले भने, हाम्रो दृष्टिमा संसदीय कम्युनिस्ट आन्दोलन आफ्नो घोषित उद्देश्यअनुसार सफल हुन सकेन। सरकारको नेतृत्व गरे पनि राज्यका संरचनामा अपेक्षित परिवर्तन गर्न नसकेकाले अब यसलाई नयाँ दृष्टिकोणबाट पुनर्गठन गर्न आवश्यक छ।
विप्लवले नेपालको वर्तमान राजनीतिक संकट केवल सरकार परिवर्तनले समाधान नहुने दाबी गर्दै अब नयाँ राजनीतिक सहमति, वैचारिक पुनर्संरचना र राष्ट्रिय आवश्यकता अनुरूपको समाजवादी विकल्प निर्माण अपरिहार्य भएको बताए। उनले मुलुकका प्रमुख राजनीतिक शक्तिहरू संकीर्ण स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डामा एकजुट हुन सके मात्रै देशले नयाँ दिशा समात्न सक्ने बताए ।
कम्युनिस्ट आन्दोलनको मूल उद्देश्य सत्ता प्राप्ति मात्र नभई समाजको रूपान्तरण भएको स्मरण गराउँदै अहिलेका धेरै कम्युनिस्ट दल सरकार बनाउने र फुट्ने अन्तहीन चक्रमै सीमित भएको आरोप लगाए। यस्तो राजनीतिक संस्कृतिबाट समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने उनको भनाइ थियो।
विप्लवले अब पुराना घोषणापत्र, पुराना नारा र पुरानै राजनीतिक अभ्यासले काम नगर्ने भन्दै देशको वास्तविक आवश्यकता, उत्पादन, राष्ट्रिय स्वाधीनता र जनआकांक्षालाई केन्द्रमा राखेर नयाँ घोषणापत्र र नयाँ विचारसहित समाजवादी आन्दोलन पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले देश सुहाउँदो समाजवाद निर्माण गर्न नसकिए नेपाल झन् गहिरो परनिर्भरता र परतन्त्रताको जोखिमतर्फ धकेलिन सक्ने चेतावनी समेत दिए।
यसैक्रममा उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हुने सत्ता समीकरण र साझेदारीको राजनीतिप्रति समेत कटाक्ष गरे। पुरानै अनुहार, पुरानै समीकरण र सत्ताकेन्द्रित राजनीतिक अभ्यासले अब जनताको विश्वास पुनः प्राप्त गर्न नसक्ने संकेत गर्दै उनले नेपाली राजनीतिमा नयाँ वैचारिक हस्तक्षेपको आवश्यकता दोहोर्याए।














Comments are closed