झबिलाल राहु मगर
नेपालको वर्तमान राजनीतिक परिवेशमा एउटा गम्भीर बहस पुनः सतहमा आएको छ-के हामी राजनीतिकर्मीहरू वास्तवमै सिद्धान्तनिष्ठ छौँ, कि केवल पार्टीको झन्डा बोकेर अन्ध समर्थन गर्ने अन्धभक्त मात्रै बन्दै गएका छौँ ? पछिल्लो समय बढ्दो ध्रुवीकरण र अन्धभक्तिको प्रवृत्तिले यो प्रश्न झन् गम्भीर बनेको छ।
राजनीति विचार र सिद्धान्तको खेल हो, तर त्यसको मूल उद्देश्य जनताको हित सुनिश्चित गर्नु हो। कुनै पनि दल वा सरकारले राम्रो काम गरिरहेको छ भने त्यसलाई खुलेर प्रशंसा गर्न सक्नु नै परिपक्व राजनीतिक संस्कारको संकेत हो। दुर्भाग्यवश, हाम्रो समाजमा “मेरो पार्टी ठीक, अरू सबै बेठीक” भन्ने सोचले जरा गाडेको छ। यही कारणले गर्दा राम्रो काम पनि आलोचनाको सिकार बन्ने गरेको छ।
राजनीतिकर्मीहरूले अब आफूलाई समीक्षा गर्ने समय आएको छ। यदि हामीले राम्रो कामलाई राम्रो भन्न सकेनौँ भने, हामीले जनताको विश्वास गुमाउनेछौँ। जनताले अब अन्ध समर्थन होइन, तथ्य र परिणाम हेर्न थालेका छन्। त्यसैले, जुनसुकै दलको भए पनि जनहितमा गरिएको कामलाई समर्थन गर्नु नै जिम्मेवार राजनीतिक आचरण हो।
त्यसैगरी, नराम्रो कामको खुलेर विरोध गर्नु पनि उत्तिकै आवश्यक छ। भ्रष्टाचार, दुरुपयोग, र गैरजिम्मेवार निर्णयहरूलाई केवल पार्टीको नाममा ढाकछोप गर्नु भनेको जनताको विश्वासमाथि खेलवाड गर्नु हो। यदि हामीले यस्तो प्रवृत्तिलाई निरन्तरता दियौँ भने, हामी केवल अन्धभक्तमात्र होइन, हौसे समर्थक बन्नेछौँ-जसलाई भोलिका दिनमा जनताले अस्वीकार गर्नेछन्।
विश्लेषकहरूका अनुसार, नेपालको राजनीतिक संस्कार परिवर्तन हुन जरुरी छ। आलोचना र प्रशंसा दुबैलाई सन्तुलित रूपमा ग्रहण गर्ने बानी बसाल्नुपर्छ। यसले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ। सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि नागरिकहरूलाई सचेत बनाएको छ, जसले गर्दा अब तथ्य लुकाउन गाह्रो हुँदै गएको छ।
अन्ततः, राजनीति व्यक्तिगत स्वार्थका लागि होइन, जनताको सेवाका लागि हो भन्ने कुरा बिर्सनु हुँदैन। हामीले अन्धभक्त होइन, सचेत, जिम्मेवार र निष्पक्ष नागरिक तथा राजनीतिकर्मी बन्ने प्रतिबद्धता जनाउनुपर्छ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने हिम्मत नै सच्चा नेतृत्वको पहिचान हो। यही सोच र व्यवहारले मात्रै नेपालमा स्वस्थ र उत्तरदायी राजनीतिक संस्कारको विकास सम्भव छ।
यस सन्दर्भमा, विगतका अनुभवहरूबाट सिक्ने आवश्यकता अझ महत्वपूर्ण देखिन्छ। यदि हामीले हिजोका दिनहरूमा पनि यस्तै निष्पक्ष दृष्टिकोण अपनाएर राम्रो कामलाई समर्थन र नराम्रो कामलाई विरोध गर्ने संस्कार विकास गरेको भए, आजको नेपालको राजनीतिक अवस्था फरक हुन सक्थ्यो। विगतमा भएका कमजोरीहरू-चाहे ती शासनमा रहेका दलका हुन् वा प्रतिपक्षका-हामीले इमानदारीपूर्वक स्वीकार गर्नुपर्छ।
आजको परिवेशमा, नयाँ सरकारले केही सकारात्मक पहलहरू गरिरहेको छ भने त्यसलाई केवल “अरूको काम” भनेर नकार्नु उचित हुँदैन। बरु, प्रतिपक्षमा बसेर पनि सही कामलाई समर्थन गर्ने परिपाटी विकास गर्नु लोकतान्त्रिक परिपक्वताको संकेत हो। यसले सरकारलाई थप राम्रो गर्न प्रोत्साहित गर्छ र जनतामा सकारात्मक सन्देश प्रवाह गर्छ।
त्यसको विपरीत, यदि सरकारले गलत निर्णय गर्छ वा जनहित विपरीत कदम चाल्छ भने त्यसको खुलेर, स्पष्ट र तथ्यमा आधारित विरोध गर्नुपर्छ। विरोध गर्नु भनेको केवल आलोचना गर्नु मात्र होइन, वैकल्पिक समाधान प्रस्तुत गर्नु पनि हो। यही सन्तुलित भूमिका नै सशक्त प्रतिपक्षको पहिचान हो।
दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि यस्तो प्रवृत्ति देखिन्छ-हिजो आफूले गर्न नसकेको राम्रो काम आज अरूले गर्दा स्वीकार गर्न नसक्ने। यो मानसिकता परिवर्तन नगरेसम्म हामीले अपेक्षित राजनीतिक सुधार हासिल गर्न सक्दैनौँ। यदि हामीले राम्रो कामलाई पनि केवल राजनीतिक पूर्वाग्रहका कारण नकार्यौँ भने, हामी “अन्धभक्त ” मात्र होइन, “अन्धभक्तमात्र होइन हौसे समर्थक ” बन्नेछौँ।
अन्ततः, जनताले नै अन्तिम निर्णय गर्ने शक्ति राख्छन। यदि हामीले सत्यलाई बेवास्ता गर्यौँ, राम्रो कामको अवमूल्यन गर्यौँ र नराम्रो कामलाई ढाकछोप गर्यौँ भने, भोलिका दिनमा जनताले हामीलाई कठोर रूपमा मूल्याङ्कन गर्नेछन् । त्यसैले, अबको आवश्यकता स्पष्ट छ-राजनीतिमा सत्य, निष्पक्षता र उत्तरदायित्वलाई प्राथमिकता दिने नयाँ संस्कारको विकास। यही बाटोले मात्र देशलाई सही दिशातर्फ अगाडि बढाउन सक्छ।
निश्कर्श -सत्यलाई सत्य भन्न नसक्ने, असत्यको भण्डाफोर गर्न नसक्ने, बाँदर प्रवृत्तिजस्तो—आफ्नो घर पनि नबनाउने र अरूको घर पनि बन्न नदिने—यस्तो राजनीतिक चेत रहँदासम्म न नेपाल समृद्ध हुन सक्छ, न त नेपाली जनता खुसी हुन सक्छन।
प्युठान ।














Comments are closed