Shopping cart

  • Home
  • राजनिती
  • नेपालीलाई राष्ट्रिय एकताका लागि एकजुट हुन निरौलाको आह्वान
देश

नेपालीलाई राष्ट्रिय एकताका लागि एकजुट हुन निरौलाको आह्वान

Email :17

काठमाडौं। नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र तथा सनातन धार्मिक राज्य पुनःस्थापनाको आवश्यकता औंल्याउँदै सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताका लागि एकजुट हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिलमा निरौलाले मुलुक राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा गम्भीर संकटतर्फ उन्मुख भएको दाबी गरेका छन्। उनले वर्तमान शासन व्यवस्थाले देशका विद्यमान समस्याको प्रभावकारी समाधान गर्न नसकेको आरोप लगाएका छन्।

उनका अनुसार उद्योग, उत्पादन र बजार प्रणाली कमजोर बन्दै जाँदा अर्थतन्त्र संकटग्रस्त बनेको, युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको तथा जनतामाथि करको भार निरन्तर बढिरहेको छ। यस्तो अवस्थाले मुलुकको भविष्य थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।

निरौलाले भारतसँगको सीमा विवाद अझै समाधान हुन नसकेको, राष्ट्रिय एकता कमजोर बन्दै गएको तथा पछिल्लो समय विभिन्न स्थानमा देखिएका आन्दोलन र असन्तुष्टिलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले सुनसरीमा देखिएको विद्रोहलाई बढ्दो जनअसन्तुष्टिको संकेतका रूपमा उल्लेख गरेका छन्।

सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको विपरीत गतिविधि भइरहेको आरोप लगाउँदै निरौलाले केही चर्चित प्रकरणले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको दाबी गरेका छन्। साथै, प्रमुख राजनीतिक नेताहरू र प्रतिष्ठित व्यवसायिक घरानामाथि प्रतिशोधपूर्ण व्यवहार भइरहेको आरोपसमेत उनले लगाएका छन्।

निरौलाले प्रजातन्त्र जनताको आत्मसम्मान, अधिकार र सहभागिता सुनिश्चित गर्ने प्रणाली हुनुपर्ने उल्लेख गर्दै युवाका लागि स्वदेशमै रोजगारी सिर्जना, राष्ट्रिय एकताको सुदृढीकरण तथा सुशासन स्थापना गर्न नसकिए नेपालको सार्वभौमिकता र राष्ट्रिय अस्तित्वमाथि थप चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

वर्तमान शासन व्यवस्था परिवर्तन गरी संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र तथा सनातन धार्मिक राज्य पुनःस्थापना आवश्यक भएको दाबी गर्दै उनले आन्दोलनलाई सफल बनाउन सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

Comments are closed

Related Post