काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसमा तुवाँलो लागेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले कांग्रेसमा लागेको तुवाँलो पुच्छ्नुपर्ने बताएका हुन्।
‘कांग्रेसमा धुलो, तुवाँलो लागेको छ। पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ नेता रिजालले भने। उनले राजनीतिक दलका नेतृत्वमा रहनेहरूले आफूलाई सारा पृथ्वी बोकेको सोच्ने गरेको पनि बताएका छन्। नेताहरूका त्यस्तो सोचले राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरण नभएको दाबी गरे ।
नेता रिजालले राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने मानसिकता हाबी भएको भन्दै उनले भने, ‘पुस्तान्तरण भन्ने कुरा त राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन, जसले सक्छ त्यसले नेतृत्व लिन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि एक कार्यक्रममा आफूले छाड्दा गर्ल्यामगुर्लुम झर्छ भनेर दिएको अभिव्यक्तिमाथि उनले कटाक्ष गरे।
नेता रिजालले भने, ‘ नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ। छोड्नै नमिल्ने भएको छ। त्यस्तो के जाने हो थाहा छैन। एकछिन पनि छोड्नै नमिल्ने गरी।’














Comments are closed