काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले राणाशासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्र पुनःस्थापनासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। २००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका उनी २०१५ सालपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका थिए।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले करिब आठ वर्ष कारागार जीवन बिताए। २०२५ सालमा बीपी कोइरालासँगै रिहा भएपछि प्रवासमा राजनीतिक संगठन विस्तार गरेका सिंह २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए।
२०४६ सालको जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहसमेत अस्वीकार गर्दै उनले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए। उनको २०५४ असोज २ गते निधन भएको थियो।














Comments are closed