काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन् ।
त्यस्तै संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ ।
यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिस भएका छन् ।
विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन् ।














Comments are closed